पाेखरा ।।
पोखरा महानगरपालिकाका उजुरी फछ्र्यौट शाखाका
अधिकृत कपिल गिरी २५ हजार घुस रकमसहित पक्राउ परेका छन् ।
गिरीलाई बिहीबार(आज) दिउँसो न्युरोडस्थित महानगरकाे कार्यालय अगाडिबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको कार्यालयका टोलीले उक्त घुस रकम सहित पक्राउ गरेका हुन् ।
स्याङ्जाको पुतलीबजार नगरपालिकामा कार्य क्षेत्र रही केहि समय अघि मात्र पोखरा महानगरमा काज सरुवा भई आएका उनी महानगरमा उजुरी फछ्र्यौट शाखामा कार्यरत थिए ।
आरोपित गिरीले विभिन्न व्यक्तिको नाममा कृत्रिम उजुरी परेको भन्दै सो उजुरी मिलाउन मोटो रकम चाहिने भन्दै सर्वसाधारणलाई माग्ने गरेका थिए ।
विहीबार पनि बाटोको विषयमा अख्तियारमा उजुरी परेको भन्दै सो उजुरी मिलाउन १ लाख रुपैयाँ चाहिने भन्दै एक सेवाग्राहीसँग मागेका थिए ।
नगद १ लाख रुपैयाँ माग गरेको सूचनाको आधारमा कारबाही गर्दा २५ हजार रुपैयाँ सहित गिरीलाई
अख्तियारले पक्राउ गरेकाे हाे । तर उनले आफू निर्दोष भएको दाबी गरेका छन् ।
उनले केही व्यक्तिहरुले आफूलाई फसाउन यस्ताे चाल रचेकाे आयोगको टोलीसँग बताएका छन् ।











