प्रतिकूल मौसमका कारण उडान प्रभावित
  • प्रमुख खबर

काठमाण्डाै ।।

प्रतिकूल मौसमका कारण देशको उडान प्रभावित भएको छ । लगातारको वर्षाले ‘भिजिबिलिटी’ कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशका विभिन्न विमानस्थलको  उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसम तथा कम ‘भिजिबिलिटी’ का कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित भएको छ । बिहान ‘इन रुट वेदर’ का कारण अन्तर्राष्ट्रियतर्फ जजिरा एअरको विमान भारतको बनारस डाइभर्ट हुनुका साथै आन्तरिकमा बुद्ध एअरको पर्वतीय उडान (माउन्टेन फ्लाइट) को विमान डाइभर्ट भएको उनले जानकारी दिन् ।

रामेछापबाट लुक्ला उड्ने समिट र तारा एअरका तीन विमान लुक्लाको खराब मौसमका कारण डाइभर्ट भएका छन् । वर्षा रोकिएसँगै काठमाण्डाै विमानस्थलसहित काठमाण्डाैबाहिरका क्षेत्रीय विमानस्थलबाट सामान्य रूपमा विमान सञ्चालन भइरहेका प्रवक्ता शेर्पाले जानकारी दिए । दुर्गम क्षेत्रका विमानस्थलमा केही उडान अवरुद्ध भएका छन् भने नेपाल वायु सेवा निगमको काठमाण्डाै–थामखर्क गन्तव्यको उडान पनि डाइभर्ट भएको  बताए ।

काठमाण्डाै उपत्यकामा आज बिहानैदेखि हल्का वर्षा भएको थियो । अहिले काठमाण्डाै आसपास क्षेत्रको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहँदा काठमाण्डाैसहित देशका केही पहाडी भागमा हल्का वर्षा भइरहेको महाशाखाले निकालेकाे माैसम ‘बुलेटिन’ मा उल्लेख छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्