पोखरा ।।
नेपाली सेनाको नेतृत्वमा “पदयात्रा मार्ग सरसफाई अभियान” सञ्चालन भएको छ ।
पश्चिम पृतनाका पृतनापति उपरथी श्री मधुकर सिंह कार्कीको अवधारणा र श्री नं. ३ वाहिनी अड्डाको निर्देशन अनुसार फुलवारी व्यारेकमा अवस्थित श्री कृष्णदल गणले अन्नपूर्ण पदयात्रा मार्गको सरसफाई अभियान सञ्चालन गरेको हो। 
श्री कृष्णदल गणका गणपति प्रमुख सेनानी श्री राजेन्द्र पुडासैनीको नेतृत्वमा भएको उक्त सरसफाई अभियानले पर्यावरण संरक्षण र पर्यटन प्रवर्द्धनमा टेवा पुग्नुका साथै पर्यटकहरुको यात्रा सहज र सुरक्षित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको पश्चिम पृतनाका पृतनापति कार्कीले बताएका छन्।
उनका अनुसार यस अभियान अन्तर्गत बैशाख २१ देखि २५ गतेसम्म अन्नपूर्ण गाउँपालिकामा अवस्थित झिनु, छोम्रोङ्ग, तल्लो छोम्रोङ्ग, सिनुवा, देउराली र बाम्बो इलाकाका पदयात्रा मार्गहरूको स्वच्छताका लागि अभियान सञ्चालन गरिएको थियो ।
सो अभियानको क्रममा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (ACAP) का प्रतिनिधि, स्थानीय होटल व्यवसायी, आमा समूह र स्थानीय जनता समेतको उल्लेखनीय सहभागिता रहेको थियो।
उक्त अभियानको अन्तिम दिन बिहीबार(आज)संकलित करिब २ सय ९० किलो प्लास्टिकजन्य फोहोरलाई सरसफाई कार्यक्रमको विशेष समारोहबीच कृष्णदल गणका गणपति प्रमुख पुडासैनीले अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना छोम्रोङ्गका प्रमुख नेत्र शर्मालाई हस्तान्तरण गरिएको थियो ।
त्यस्तै यसै कार्यक्रमबीच अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष गुञ्जमान गुरुङ्गले नेपाली सेनाबाट पाँच दिनसम्म जुन प्रकारको सरसफाइको कार्य सञ्चालन भयो सो कार्य अत्यन्त सर्हानिय भएको बताए ।










