पोखरा ।।
प्रेस चौतारी नेपालद्वारा घोषणा गरिएको ‘प्रशिक्षण वर्ष–२०८२’ को लोगो सार्वजनिक भएको छ ।
मंगलबार बालुवाटारमा आयोजित जनसंगठनका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले लोगो सार्वजनिक गरेका हुन् । लोगो सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले मर्यादित र व्यावसायिक पत्रकारिता क्षेत्रको विकास र पत्रकारको सशक्तीकरणका लागि प्रेस चौतारीले थालेको यो अभियानको प्रशंसा गरे ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेका अनुसार वर्ष २०८२ लाई प्रशिक्षण वर्ष घोषणा गर्दै प्रेस चौतारीले सबै प्रदेश र ७७ वटै जिल्लामा पत्रकारिता, डिजिटल माध्यम, प्रेस स्वतन्त्रता र श्रम अधिकार जस्ता विषयमा विशेष प्रशिक्षण सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
उनले चौतारी आबद्ध पत्रकार वैचारिकरूपमा मजबुत र वैचारिक रूपमा अब्बल हुने विश्वास व्यक्त गरे । प्रशिक्षणले पत्रकारको व्यावसायिक क्षमता वृद्धिसँगै मिडिया क्षेत्रलाई थप मर्यादित, उत्तरदायी र जनमुखी बनाउन मद्दत गर्ने उनले बताए । उनका अनुसार जिल्ला शाखाले कम्तीमा ३ वटा प्रशिक्षण कार्यक्रम गर्नेछन् ।
प्रेस चौतारी नेपाल प्रगतिशील व्यवसायी पत्रकारको क्षेत्रमा २७ वर्षदेखि काम गर्दै आएको संस्था हो । पत्रकारको अधिकार, पेसागत हित र नीति निर्माणमा संगठनले अग्रणी भूमिका खेल्दै आएको छ । प्रेस चौतारीमा हाल ७ हजारभन्दा बढी पत्रकार आबद्ध रहेको उनले बताए ।
कार्यक्रममा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल, एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतम, चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेत, महासचिव हिरामान लामा, चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी लगायत उपस्थित थिए ।