पोखरा ।।
नवौं प्रधानमन्त्री कप-एन भी ए महिला तथा पुरुष लिग २०८२ हुने भएको छ । नेपालमा पहिलोपटक ‘भलिवुड सिटी’ पोखरामा यो प्रतियोगिता हुने भएको हो ।
नेपाल भलिबल संघको आयोजनामा यहि जेठ ८ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिएको छ ।
प्रतियोगिता पोखरा रंगशालास्थित बहुउद्धेश्यिय कभर्ड हलमा हुने छ । यसअघिका संस्करणहरु काठमाडौंको त्रिपुरेश्वरस्थित हलमा हुँदै आएकोमा पहिलोपटक पर्यटनको राजधानी पोखरामा हुन लागेको हो ।
नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले पोखरा देशकै ठूलो शहर मात्रै नभई, कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न सक्ने पूर्ण क्षमता बोकेको शहर भएको बताउँदै भलिवुड सिटीको रूपमा परिचित पोखरा भलिबलप्रेमीहरूका लागि प्रिय भूमि भएको जानकारी दिए ।
उनले एनभिए क्लब लिग मात्र नभएर कभा च्याम्पियनशिप पनि पोखरामै आयोजना गर्ने तयारी गरिरहेको बताए । भलिबललाई माया गर्ने पोखरेलीहरु यसको लागि धेरै दिन कुर्न नपर्ने बताए ।
यस प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मी, नेपाल पुलिस क्लब, एपीएफ क्लब, गण्डकी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, हेल्प नेपाल स्पोर्टस क्लब र कोशी प्रदेश गरी कुल ८ टोली रहेका छन् भने महिलातर्फ नेपाल आर्मी, नेपाल पुलिस, एपीएफ क्लब, न्यू डायमण्ड यूथ स्पोर्टस क्लब, एभरेष्ट भलिबल क्लब, र कर्णाली प्रदेश गरी ६ टोली सहभागी हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा पुरुष तथा महिला दुवै समूहका उपाधि विजेताहरुले समान रूपमाजनही नगद रु ८/८ लाख, उपविजेताले ४/४ लाख, तृतिय हुनेले नगद रु २/२ लाख प्राप्त गर्नेछन्।
त्यस्तै सर्वोत्कृष्ट खेलाडीलाई समान रूपमा जनही नगद रु ५०/५० हजार र विद्यागत उत्कृष्ट खेलाडीहरुले जनही नगद रु २५/२५ हजार प्राप्त गर्नेछन् ।
आयोजकका अनुसार यस प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च हुने बताइएको छ । पुरस्कार राशिमा मात्र ३२ लाख खर्च हुने पनि जानकारी दिइएको छ ।













