पाेखरा ।।
नवौं पिएम कप एनभिए भलिबल लिगमा महिलातर्फ एपिएफ र नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । एपिएफले विभागीय डर्बीमा आर्मीलाई सोझो सेटमा हराएकाे हाे ।
पोखरास्थित कभर्ड हलमा भएको खेलमा एपिएफले त्रिभुन आर्मीलाई २५–७, २५–२३ र २५–२० को नतिजा निकाल्दै ३ अंक जोडेको छ ।
शनिबार भएको पहिलो खेलमा पुलिसले कर्णालीलाई कुनै पनि मौका दिएन । कर्णालीलाई २५–५, २५–९ र २५–११ को नतिजामा हराउँदै पुलिसले ३ अंक जोडेको छ ।
महिलातर्फ टिप टप न्यु डायमण्ड र एभरेष्ट भलिबल क्लबबीच खेल हुनेछ । पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् ।
नेपाल भलिबल संघको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता रहेको छ। सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् ।
दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।













