पोखरा ।।
पोखरामा भोलिदेखि स्नूकर प्रतियोगिता हुने भएको छ । कास्की विलियड्र्स स्नूकर तथा पुल संघको आयोजनामा कास्की जिल्ला आठौं खुल्ला स्नूकर प्रतियोगिता–२०८२ प्रतियोगिता हुने भएको बुधबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
भोलि जेठ १५ गतेदेखि शुरु हुने प्रतियोगिता ३० गतेसम्म सञ्चालन हुने संघका अध्यक्ष सागरकुमार साई (दीलिप)ले जानकारी दिए । प्रतियोगितामा ६४ जना खेलाडीले प्रतिष्पर्धाका लागि नाम दर्ता गरेको उनले बताए ।
प्रतियोगितामा संघमा आबद्ध क्लबहरुका खेलाडीहरुले मात्र सहभागिता जनाउने पाउने महासचिव सविन जिसीले जानकारी दिए । उद्घाटन तथा फाइनल खेल दिपलव स्नुकर क्लब विन्ध्यबासिनी बसर्पाकमा हुने उनले बताए । त्यसबाहेक फष्र्ट राउण्डदेखि क्वाटर फाइनलसम्मका खेलहरु भने फाइनल स्कोर स्पोर्ट क्लव, एमएक्स स्नूकर क्लव, ईगल आई स्नूकर क्लव, सेभेन ट्वान्टी वान स्नूकर क्लवमा हुने उनले जानकारी दिए ।
विलियार्ड स्नुकरलाई व्यावसायिक रुपमा स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको संघले जनाएको छ । जसले खेलको विकाससँगै खेलाडीलाई प्रोत्साहन गर्ने अध्यक्ष साईले बताए ।
प्रतियोगितामा प्रथम हुनेले नगद ८० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र, द्वितीय हुनेले नगद ४० हजार, शिल्ड, मेडल र प्रमाण–पत्र, तृतीय हुनेले नगद १५ हजारसहित शिल्ड, मेडल र प्रमाण–पत्र तथा हाइएष्ट ब्रेकरलाई ५ हजार, शिल्ड र प्रमाण पत्र प्रदान गरिने महासचिव सविन जिसीले जानकारी दिए ।
प्रतियोगिता सञ्चालन गर्न ३ लाख ५४ हजार खर्च लाग्ने अनुमान गरिएको जनाइएको छ ।














