प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ २७ देखि
  • प्रमुख खबर

पोखरा ।।

प्रथम प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता पोखरामा हुने भएको छ। नेशनल स्पोर्ट्स एकेडेमीको आयोजनामा यही जेठ २७ देखि ३१ गतेसम्म सो प्रतियोगिता हुने भएको हो ।

प्रदेश खेलकुद परिषद् गण्डकी प्रदेश र जिल्ला खेलकुद विकास समिति कास्कीको विशेष सहयोगमा हुने यस प्रतियोगितामा राष्ट्रिय स्तरका शीर्ष ६ महिला टिमहरू सहभागी हुने बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको छ।

पोखरा रंगशाला स्थित कभर्ड हलमा हुने सो प्रतियोगितामा नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल, गण्डकी प्रदेश, न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब र एभरेष्ट भलिबल क्लब गरी छ टोली सहभागी हुनेछन् ।

राउण्ड रोबिन लिगको आधारमा सञ्चालन हुने यस प्रतियोगितामा प्रत्येक टिमले तीन जनासम्म विदेशी खेलाडीलाई समावेश गराउनसक्ने व्यवस्था गरिएको एकेडेमीका अध्यक्ष दीपक कोईरालाले बताएका छन्।

वि.सं. २०७५ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारले भलिबाललाई राष्ट्रिय खेलको रूपमा घोषणा गरेको थियो।

यही राष्ट्रिय खेल भलिबल पछिल्लो समय अत्यन्तै लोकप्रिय बन्दै गएको बताउँदै अध्यक्ष कोईरालाले यस खेलले गतिशील लिँदै गएको यो समयमा भलिबल विकासका लागि एउटा इटा थप्ने प्रयास स्वरूप प्रतियोगिताको सुरुवात गरिएको बताएका छन्।

उनले आगामी दिनहरुमा यस प्रतियोगितालाई अझ उत्कृष्ट बनाउँदै लैजाने एकेडेमीले लक्ष्य लिएको पनि बताए ।

प्रतियोगिताका विजेताले नगद रु ६ लाख, उप-विजेताले नगद रु ३ लाख तथा तेस्रो हुनेले नगद रु १ लाख पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।

त्यस्तै सर्वोत्कृष्ट खेलाडीले नगद रु ३० हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीहरूले जनही रु २० हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतियोगिता नेपाल भलिबल संघ र एभआइभीवीको नियम अनुसार सम्पन्न गरिनेछ भने सहभागी टिमहरूको यातायात र बसोबासको व्यवस्था आयोजकले नियमानुसार गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्