पोखरा।।
७औं राष्ट्रिय इन्डोर आर्चरी च्याम्पियनसिप सुरू भएको छ । पोखरा रंगशाला स्थित मल्टी प्रपोज कभर्ड हलमा शुक्रबारबाट(आज) च्याम्पियनसिप सुरु भएको हो ।
प्रतियोगिताको आज एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका(राखेप) का सदस्य सचिब टंकलाल घिसिङले उद्घाटन गरेका छन् ।
यस अवसरमा बोल्दै घिसिङले केही प्राविधिक समस्याका कारण दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना हुन नसक्दा आर्चरी लगायतका अन्य विशेष खेलहरू प्रभावित बनेको बताए ।
उनले पोखरामा पहिलो पटक आयोजना भएको इन्डोर आर्चरी च्याम्पियनसिपले खेलाडीहरुमा उत्साह थप्नेमा आफू विश्वस्त रहेको बताउँदै यस प्रतियोगिताले खेलाडीहरु भित्र रहेको क्षमता प्रदर्शनका लागि समेत उत्तिकै महत्वपूर्ण हुने उल्लेख गरे ।
सदस्य सचिब घिसिङले १९ औं एसियाली खेलकुदमा समेत नेपाली खेलाडीहरुको सहभागिताले नेपाली आर्चरी खेलले निकै प्रशंसा पाएको बताए ।
उनले पोखराको बहुउद्धेश्यिय कभर्डहल सबै खेलका लागि उत्तिकै महत्वपूर्ण रहेकोले यसको उपयोग गर्न समेत आग्रह गरे ।
त्यस्तै कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सभाका सदस्य एंव आचार्य संघका केन्द्रीय सचिव समेत रहेका विकल शेरचनले इन्डोर आर्चरीले गण्डकी प्रदेशको आर्चरी खेलको विकासमा कोशेढुङ्गा हुनेमा आफू विश्वस्त रहेको बताए ।
उनले नयाँ बजेटमा मुस्ताङमा हाइअल्टिच्यूड खेल मैदान निर्माणका लागि बजेट आउनु अत्यन्तै उत्कृष्ट कार्य भएको बताउँदै उनले अब गण्डकी प्रदेशका खेलाडीहरुका लागि सो खेल केन्द्र प्रशिक्षणको रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।
सांसद शेरचनले ५ वर्ष अघिबाट निर्माण सुरू भएको मुस्ताङको कभर्डहल अलपत्र अवस्थामा रहेकोले यथासिघ्र निर्माण सम्पन्न गर्न ध्यानाकषर्ण समेत गरे ।
नेपाल आर्चरी संघको प्राविधिक सहयोगमा आज र भोलि गरी दुईदिनसम्म सञ्चालन हुने यस प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद र प्रदेश खेलकुद परिषद् गण्डकीको सहयोग रहेको छ ।
प्रतियोगितामा तीन विभागीय टोली, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका दुई टिम गरी कुल ७० जना खेलाडीहरूको सहभागिता छ । जसमा महिला खेलाडीहरुको संख्या २२ र पुरूषहरुको संख्या ४८ जना रहेको छ ।
प्रतियोगितामा रिकर्व महिला/पुरुष, रिकर्व टिम इभेन्ट, रिकर्व मिक्स इभेन्ट, कम्पाउण्ड महिलारपुरुष इन्डिभिजुअल, स्टाण्डर्ड महिला/पुरुष इन्डिभिजुअल, स्टाण्डर्ड मेन्स टिम इभेन्ट र मिक्स इभेन्ट गरी कुल १० इभेन्टमा १० स्वर्ण, १० रजत र १० काश्य पदकका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।













