काठमाडौं /भारतको गुजरातस्थित अहमदाबादमा एक ठूलो हवाइ दुर्घटना भएको छ। लन्डनका लागि उडेको एयर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान उडान भरेको दुई मिनेटमै दुर्घटनामा परेको हो।
इन्डिया टुडेका अनुसार, बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान भुइँमा खसेको थियो। स्थानीय क्षेत्रबाट खिचिएको दृश्यहरूमा आकासमा बाक्लो कालो धुवाँ मडारिएको देखिन्छ।

विमानमा चालक दलसहित २४२ जना सवार थिए। तीमध्ये ५२ जना बेलायती, ६ जना पोर्चुगिज र १ जना क्यानडेली नागरिक रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
भारतीय समयअनुसार दिउँसो १ बजेर ३८ मिनेटमा उडेको यो जहाज उडेको केही मिनेटमै नियन्त्रण गुमाएर खसेको पुष्टि भएको छ।
घटनास्थलमा सातवटा दमकल र आपतकालीन उद्धार टोली पुगिसकेको छ। हालसम्म क्षति र ज्यानको अवस्थाबारे विस्तृत विवरण सार्वजनिक भइनसकेको जनाइएको छ।
दुर्घटनाको कारणबारे छानबिन सुरु भएको छ।














