पोखरा ।।
लामा अमृत फाउन्डेसन घान्द्रुकको आयोजनामा तेस्रो संस्करणको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।
फाउन्डेसनले बुधबार पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिताबारे जानकारी दिएको हो।
प्रतियोगिता यही असार २४ देखि २८ गतेसम्म नदिपुर स्थित नेपाल छन्त्याल समाजको भवनमा सञ्चालन हुने फाउन्डेसनका संस्थापक अध्यक्ष लामा अमृत गुरुङले बताएका छन्।
उनले यस तेस्रो संस्करणको पुरुष भलिबल प्रतियोगितामा सहभागी हुने टोलीले सातौं, आठौं र नवौं राष्ट्रिय खेलकुद र राष्ट्रिय पुरुष भलिबल टिमका ३ जना खेलाडी समावेश गर्न पाइने बताए।
यस्तै भेट्रान्स भलिबलतर्फ ३८ वर्ष उमेर पुरा भएका खेलाडी मात्र समावेश गर्न पाइने आयोजकले जनाएको छ ।
पुरुषतर्फको प्रतियोगिताको विजेताले नगद रु १ लाख २५ हजार, उप-विजेताले नगद रु ७५ हजार, तेस्रो हुनेले नगद रु ३० हजार र सान्त्वना हुनेले १५ हजार सहित मेडल, प्रमाण-पत्र र ट्रफी प्राप्त गर्नेछन् ।
त्यस्तै भेट्रान्सतर्फको विजेताले नगद रु ५० हजार र उप-विजेताले नगद रु २५ हजार सहित ट्रफी, मेडल र प्रमाण-पत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले समेत आकर्षक पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा ६ टिमलाई मात्र सहभागी गराउने फाउन्डेसनले जनाएको छ।
आयोजकका अनुसार प्रतियोगितामा ६ टिमलाई सहभागी गराउने भनिएपनि यदि ५ समूहको मात्र सहभागिता भएको खण्डमा भने राउण्ड रोविनको आधारमा सञ्चालन हुने अन्तराष्ट्रिय भलिबल रेफ्री टहलसिंह थापामगरले बताए ।
उनका अनुसार प्रतियोगितामा भेट्रान्सतर्फका खेल भने नकआउटको आधारमा सञ्चालन गर्ने बताएका छन् ।
प्रतियोगिताको पहिलो दिन दर्शकहरुको लागि नि:शुल्क प्रवेश रहेपनि दोस्रोदिन देखि भने टिकटको व्यवस्था रहेको आयोजकले जनाएको छ ।













