श्रावण १४ गते, बुधबार
पाेखरा ।। २२ औं संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यस वर्ष पाेखरामा हुने भएको छ । याे अवार्ड पहिलाे पटक पर्यटकीय राजधानी पाेखरामा हुन लागेकाे हाे ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले पोखरामा बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै साे कुराकाे जानकारी दिएकाे हाे ।
वि.सं २०६० सालदेखि निरन्तर रुपमा हुँदै आएको उक्त अवार्ड कार्यक्रम भदौ २९ गते हुनेछ । यस कार्यक्रमलाई गोल्छा ग्रुपको बजाज पल्सर मोटरसाइकलले मुख्य प्रायाेजन गर्दै आइरहेकाे छ ।
अवार्ड आयोजनाका लागि बुधबार मञ्च र पोखरा महानगरपालिका बीच सम्झौता समेत भएको छ । सम्झौता-पत्रमा मञ्चका तर्फबाट अध्यक्ष निराजन अधिकारी र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि बोल्दै महानगरका प्रमुख धनराज आचार्यले पोखराले भ्रमण वर्ष २०२५ मनाइरहेको समयमा “एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१” पहिलो पटक काठमाडौँ बाहिर पाेखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण भएको बताए ।
उनले पाेखरा पर्यटनकाे राजधानी मात्र नभइ खेलकुद हबकाे सहरका रुपमा पनि पछिल्लो समय स्थापित भएकाे बताउँदै यस्ता कार्यक्रमहरुले थप टेवा पुग्ने बताए ।
उक्त अवार्ड कार्यक्रमलाई महानगरले आफ्नो वार्षिक विकास कार्यक्रम भित्र समावेश गरेकाे छ ।
यस्तै पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको मञ्चका अध्यक्ष निराजन अधिकारीले बताए ।
उनले उपत्यका बाहिर आयोजना हुन लागेको यस अवार्ड कार्यक्रम चुनौतीपूर्ण हुने भए पनि पोखरा महानगरको सहकार्यले सफल हुने विश्वास व्यक्त गरे ।
यस्तै मञ्चका महासचिव अन्जन खड्काले यस वर्ष पनि स्पोर्ट्स अवार्डमा १० विधा समावेश गरिएको जानकारी दिए ।
पल्सर स्पोर्टस अवार्डमा वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, टिम अफ दी एयर, लाइफटाइम एचिभमेन्ट अवार्ड, एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरी १० विधा समावेश गरिएको छ ।
वर्ष खेलाडी पुरुष, महिला, युवा, प्रशिक्षक, पिपल्स च्वाइसको मनोनयन केही दिनमै सार्वजनिक गरिने छ ।
टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट र एसियन स्पोर्टस जर्नालिस्ट अवार्ड विधामा भने मनोनयन हुने छैन । सम्पूर्ण विजेताको घोषणा अवार्ड कार्यक्रमकै दिनमा गरिने आयोजकले जनाएको छ ।
त्यस्तै अवार्ड कार्यक्रममा वर्ष खेलाडी पुरुष, महिला, पिपल्स च्वाइस, प्रशिक्षक र युवा खेलाडी गरी पाँच विधाका विजेतालाई मोटरसाइकल प्रदान गरिनेछ भने अन्य चार विधा टिम अफ दी एयर, लाइफटाइम अचिभमेन्ट, स्पेसल, पारा एथलिट अन्यका विजेतालाई जनही नगद रु १/१ लाख प्रदान गर्ने जनाएको छ ।
महासचिव खड्काले भोटिङ मार्फत हुने पिपल्स च्वाइस विधाको मनोनयनका साथै वर्ष खेलाडी पुरुष, महिला, युवा र प्रशिक्षक विधाको मनोनयन केही दिनमै सार्वजनिक गरिने समेत बताए ।
यस्तै कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।













