पोखरा//
लायन्स क्लब अफ पोखरा महालक्ष्मीले पोखरा–१४ स्थित बात्सायन वृद्धाश्रममा शुक्रबार विशेष सेवा कार्यक्रम सम्पन्न गरेको छ।
क्लबका संस्थापक अध्यक्ष अखिल धमलाकी छोरी अविषा धमलाको जन्मदिनको अवसरलाई सामाजिक सेवामार्फत अर्थपूर्ण बनाउँदै क्लबले पोखरा–१४ स्थित बात्सायन वृद्धाश्रममा खाना खुवाउनुका साथै खाद्यान्न,चप्पल,छाता लगायतका विभिन्न सामग्रीहरू सहयोग गरेको हो।

कार्यक्रम क्लबका अध्यक्ष रामप्रसाद खतिवडाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष डा. राजेन्द्र बसौलाले स्वागत मन्तव्य दिएका थिए। कार्यक्रममा अतिथि स्वरूप वृद्धाश्रमका कोषाध्यक्ष नरेन्द्र कुँवर र गुरुआमा सीता वाग्ले साथै वृद्धहरूको उपस्थिति रहेको थियो।
क्लबका सचिव सन्तोष पराजुली र कोषाध्यक्ष प्रमिला लम्साल तथा सदस्यहरू निरज जैसवाल, किरण भाट क्षेत्री, सरु खतिवडा र ज्ञानेन्द्र कुमार थापाको सक्रिय सहभागिता रहेको कार्यक्रममा वृद्धवृद्धाहरुलाई खाना खुवाउने साथै खाद्यान्न र अन्य आवश्यक सामग्री वितरण गरिएको थियो।

वृद्धाश्रम व्यवस्थापन पक्षले यस प्रकारका सामाजिक गतिविधिले आश्रित वृद्धवृद्धाको मनोबल वृद्धि हुने र समाजमा सकारात्मक सन्देश प्रवाह हुने भन्दै क्लबलाई धन्यवाद ज्ञापन गरेको थियो।

आफ्नो छोरीको जन्मदिनमा आफू टाढा भएका कारण उपस्थित हुन नपाए पनि क्लबको माध्यमबाट यसरी सेवा गर्न पाउँदा आफूलाई निकै नै खुसी लागेको र यसरी नै भोलिका दिनमा पनि हात अगाडि बढाउन इच्छुक रहेको संस्थापक अध्यक्ष अखिल धमलाले फोन मार्फत भएपनि जानकारी गराएका थिए।
छोटो र अविस्मरणीय बनेको उक्त कार्यक्रमको सञ्चालन क्लबका सचिव सन्तोष पराजुलीले गरेका थिए।















