नेपालमा एक मात्र मान्यता प्राप्त ओलम्पिक कमिटी : एनओसी
  • प्रमुख खबर

श्रावण २८ गते, बुधबार
पोखरा ।। अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल ओलम्पिक कमिटी (एनओसी)ले नेपालमा एक मात्र आधिकारिक ओलम्पिक कमिटी रहेको बुधबार(आज) विज्ञापित जारी गर्दै स्पष्ट पारेको छ।

केही समय अगाडि मात्र गठन भएको भनिएको ओलम्पिकको तदर्थ समिति अनाधिकृत रुपमा जन्मिएको र नेपालमा एक मात्र ओलम्पिक कमिटि भएको जनाउँदै कोही पनि भ्रममा नपर्न उक्त विज्ञप्ति मार्फत भनिएको छ ।

जारी विज्ञप्तीमा एनओसीका महासचिव राजिव श्रेष्ठले भनेका छन्,“नेपालमा मान्यता प्राप्त एनओसी हुँदा हुँदै केही अनाधिकृत व्यक्तिहरुको भेलाले ओलम्पिकको तदर्थ कमिटि गठन गरिएको छ । त्यस्तो भेलाबाट गठन गरिएका अनेकन तदर्थ समिति हुन सक्छन् । त्यस्ता कुनै पनि कमिटिहरु आधिकारिक होइनन् ।”

उनले उक्त तदर्थ समिति न कानुनी, न अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त भएको भन्दै विज्ञप्तिमार्फत कसैलाई पनि भ्रममा नपर्न आग्रह गरेका छन्।

उनले अध्यक्ष जिवनराम श्रेष्ठको नेतृत्वमा रहेको एनओसी नै अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (IOC), ओलम्पिक काउन्सिल अफ एशिया (OCA) र एशोसिएसन अफ नेसनल ओलम्पिक कमिटिज (ANOC) बाट मान्यता प्राप्त एक मात्र संस्था भएको दोहोर्‍याएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको वडापत्र र नेपालको खेलकुद ऐन २०७७ को दफा ३७ ले समेत एक देश एक ओलम्पिक कमिटि रहन सक्ने स्पष्ट अवधारणा रहेकोले कुनै पनि अनाधिकृत भेलाले ओलम्पिक कमिटि गठन गर्न नसकिने विज्ञप्तीमा स्पष्ट गरिएको छ ।

त्यस्तै “लेटरप्याडमा प्रयोग गरिएको छाप, झण्डा र लोगो अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको हो । यसको प्रयोग अन्तर्राष्ट्रिय मान्यता प्राप्त ओलम्पिक कमिटिले मात्र गर्न पाउँछ”, जारी विज्ञप्तीमा भनिएको छ ।

यस्तै नेपाल ओलम्पिकको झण्डा, लोगो र छाप अनाधिकृत रुपमा प्रयोग नर्गन सो विज्ञप्तीमार्फत सूचित समेत गरिएको छ।

कमिटीका महासचिवद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्त मार्फत आधिकारिक एनओसीले नेपालका ओलम्पिक गतिविधि र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सुनिश्चित गर्दै आएको भन्दै, भविष्यमा पनि यस्तै हुनेछ भनेर सर्वसाधारणलाई सूचित समेत गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्