भाद्र १३, पोखरा ।। राष्ट्रिय खेलकुद परिषद् (राखेप)को ६२औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ। शुक्रबार(आज) राखेपले आफ्नो मुख्यालयमा विशेष कार्यक्रमको आयोजना गरी ६२औं वार्षिकोत्सव सम्पन्न गरेको हो।

यस अवसरमा राखेपले विभिन्न विधामा योगदान पुर्याएका खेलाडी, कर्मचारी, राष्ट्रिय खेल संघ, प्रायोजक, खेलकुद पत्रकार र स्थानिय तहलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। जसअन्तर्गत राखेपले राष्ट्रिय पुरुष तथा महिला सिनियर खो-खो टोलीलाई उत्कृष्ट अवार्डसहित पुरस्कृत गरेको छ ।

पुरुष र महिला टोलीलाई समान १–१ लाख नगदको साथमा ट्रफी सहित पुरस्कृत गरिएको हो। दुवै टिमले भारतमा भएको प्रथम खो-खो विश्व कप तथा नेपाल र भारतबीच भएको टेस्ट म्याचमा रजत जितेका थिए ।
यस्तै पारा तकेवान्दोकी पलेशा गोबर्धन ५० हजार नगदसहित सम्मानित भइन् । पलेशाले पेरिस पाराओलम्पिकमा ऐतिहासिक कास्य पदक तथा मलेसियामा भएको १० औं एसियाली पारा तेक्वान्दोमा कास्य पदक जितेकी थिइन् ।
जुनियर पुरुष बक्सिङतर्फ अर्पिल राना पनि ५० हजार नगदसहित पुरस्कृत भए । अर्पिलले थाइल्यानडमा भएको एसियाली यु–२२ युथ बक्सिङ तथा श्रीलंकामा भएको एसियाली बक्सिङ यु–१९ मा कांस्य जितेका थिए ।
यस्तै जुनियर महिला क्रिकेटमा पूजा महतो पनि सम्मानित भएकी छिन् । उनी नगद रु ५० हजार सहित सम्मानित भएकी हुन्।
उनले विश्वकप एसियाली छनोटमा २ सय ७२ रन बनाउनुका साथै १० विकेट लिएकी थिइन् भने सोही छनोट खेलमा ‘प्लेयर अफ द सिरिज’ हुन सफल भएकी थिइन् । यससँगै नेपाल र मलेसियाबीचको यु–१९ टी– २० विश्वकपमा ‘प्लेयर अफ द म्याच’ बनेकी थिइन् ।
राखेपले आफ्नो ६२ औं वार्षिकोत्सवमा १० कर्मचारी, १ राष्ट्रिय खेल संघ, १ प्रायोजक, २ पत्रकार र १ स्थानिय तहलाई पुरस्कृत गरेको छ ।
कर्मचारीतर्फ फणिन्द्रप्रसाद पौडेल, प्रभा कर्माचार्य, बाबुकाजी श्रेष्ठ, दीपिका केसी र दुर्गा थापा पुरस्कृत भएका छन् । प्रशिक्षणतर्फ भीमलाल वि.क, तुल्सीनन्द वज्राचार्य, उषाकर्ण चौधरीले पुरस्कार प्राप्त गरेका छन् ।
यस्तै पुरुषतर्फ खेलकुद पत्रकारितामा उल्लेखनीय योगदान पुर्याएका खेलाडी डट कमका अञ्जन खड्का र महिलामा मेरो खेल डट कमकी लक्ष्मी शाक्य जनही २० हजारसहित सम्मान भएका छन् ।
यसैबीच नेपाल क्रिकेट संघ (क्यान) लाई उत्कृष्ट राष्ट्रिय खेल संघको रूपमा, नेपालय इन्टरनेसनल प्रा.लि. लाई उत्कृष्ट प्रायोजकको रूपमा र बागमती गाउँपालिकालाई उत्कृष्ट स्थानिय तहको रूपमा पुरस्कृत गरिएको छ ।
यस कार्यक्रममा राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, उपाध्यक्ष ध्रुव आचार्य, सदस्य–सचिव टंकलाल घिसिङलगायतका पदाधिकारीले सम्मान ग्रहणकर्तालाई पुरस्कार प्रदान गरेका थिए।













