भाद्र १८, पोखरा ।।
पोखरामा हुने दोस्रो वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी )को ट्रफी सार्वजनिक गरिएको छ ।
यही भाद्र २० देखि २८ सम्म पोखरा रङ्गशाला स्थित बहुउद्देश्यीय कभर्ड हलमा हुने प्रतियोगिताको ट्रफी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बुधबार(आज) एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।

नेपाल भलिबल संघको आयोजनामा हुने सो लिग ‘पोखरा भ्रमण वर्ष २०२५’ को सन्दर्भमा पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने नगर प्रमुख आचार्यले बताए।
उनले भने,‘पर्यटकीय राजधानी पोखरा खेल पर्यटनको पनि हब सिटी हो, यसले पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन र महिला भलिबल हेर्ने पोखरेली दर्शकहरूको चाहानालाई पुरा गर्नेछ ।’
इभेन्टहरूको शहरका रूपमा समेत विकसित हुँदै गइरहेको पोखरालाई यस प्रकारका कार्यक्रमहरूले सदैव चलायमान बनाउन मद्दत गर्ने उनले विश्वास व्यक्त गरे।
विषेशगरी यस प्रतियोगिता भलिबल खेलको आयोजना विकेन्द्रीकरण र खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित पोखरामा गर्न लागेको आयोजकले बताएको छ ।
आयोजकका अनुसार सुन्दर पोखरा शहर भलिबलप्रतिको उत्साह, सक्रिय खेल संस्कृति र दर्शकको उच्च सहभागिताका कारण यो लिगका लागि उपयुक्त स्थान मानिएको हो ।
प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । काठमाडौँ स्पाइकर्स, ललितपुर क्विन्स, कर्णाली यसबिस, मधेस युनाइेटेड, पोखरा निन्जाज र लुम्बिनी लाभाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
पोखरा निन्जाजले पर्यटकीय राजधानी पोखराको प्रतिनिधित्व गर्नेछ । यस प्रतियोगिता अघि बिहीबार साँझ पोखराको लेकसाईडमा नगर प्रमुख नेतृत्वको टिम धनराज र महानायक नेतृत्वको टिम राजेशका बिचमा मैत्रीपूर्ण भलिबल समेत हुने भएको छ ।













