असोज ११, काठमाडौं ।।
नेपाली क्रिकेटमा शनिबार(आज) अर्को ऐतिहासिक अध्याय सुरु हुँदैछ।
नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग द्विपक्षीय टी–२० शृङ्खला खेल्दैछ। नेपालले बलियो प्रतिद्वन्द्वी दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिज खेल्दै छ।
‘युनिटी कप’ नाम दिइएको तीन खेलको यो टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेल आज राति सवा आठ बजे शारजाहमा हुनेछ। दोस्रो खेल पर्सि सोमबार र तेस्रो खेल मंगलबार हुनेछ।
नेपालका लागि यो शृङ्खला केवल प्रतिष्ठा मात्र होइन, आईसीसी टी–२० विश्वकप एशिया छनोटअघि शक्ति परीक्षणको अवसर पनि हो। कप्तान रोहित पौडेलले यसलाई “ऐतिहासिक र प्रेरणादायी क्षण” भनेका छन्।
अर्कोतर्फ वेस्ट इन्डिज पछिल्ला दिनमा संघर्षरत छ। उनीहरूले खेलेका पछिल्ला दश टी–२० मध्ये केवल दुईमा मात्रै जित हात पारेका छन्।
नेपालले भने मिश्रित प्रदर्शन गर्दै पाँच खेलमा जित दर्ता गरेको छ। यसैले नेपाली क्रिकेट प्रेमीहरू वेस्ट इन्डिजविरुद्ध इतिहास रच्ने अपेक्षामा छन्।
वेस्ट इन्डिजका कप्तान सकिल होसेनले नेपालसँग युनिटी कप खेल्न पाउँदा उत्साहित रहेको प्रतिक्रिया दिएका छन्। खेलका लागि सबै तयारी पूरा भएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ।













