असोज, काठमाडौं ।।
शारजाहमा शनिबार नेपाली क्रिकेटले नयाँ इतिहास रचेको छ। दुई पटकको टी–२० विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले हराउँदै नेपालले पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रविरुद्ध टी–२० अन्तर्राष्ट्रिय जित हात पारेको हो।
नेपालले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज २० ओभरमा नौ विकेट गुमाएर १ सय २९ रनमै रोकियो। विपक्षीका लागि नवीन बिदाईसीले सर्वाधिक २२ रन बनाए भने फेबियन एलेन र अमिर जांगुले समान १९–१९ रन जोडे।
बलिङमा नेपालका कुशल भुर्तेलले दुई विकेट दिलाए भने कप्तान रोहित पौडेलसहित दीपेन्द्र ऐरी, करन केसी, नन्दन यादव र ललित राजवंशीले समान एक–एक विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १४८ रन जोडेको थियो।
कप्तान रोहित पौडेलले ३८, कुशल मल्लले ३० र विकेटकिपर गुलशन झाले २२ रनको योगदान दिए।
यस जितसँगै नेपालले ‘युनिटी कप’ नाम दिइएको तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता लिएको छ। शृङ्खलाको दोस्रो खेल आइतबार(आज)र तेस्रो खेल(पर्सी) मंगलबार हुनेछ।
आगामी टी–२० विश्वकप एशिया छनोटका लागि तयारीका रूपमा रहेकाे यस शृङ्खलामा नेपालले देखाएको प्रदर्शनलाई ऐतिहासिक मानिएको छ।













