असोज २९, काठमाडौं ।।
नेकपा (एमाले)ले आफ्नो ११औं महाधिवेशन आगामी मंसिर २७ देखि २९ गतेसम्म पोखरामा गर्ने निर्णय गरेको छ।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले मिति र स्थानसहितको प्रस्ताव प्रस्तुत गर्दै राजनीतिक प्रतिवेदन पनि टेबल गरेका छन्।
बैठकले उक्त प्रस्तावलाई औपचारिक स्वीकृति दिने तयारी गरेको छ। तीन दिनसम्म चल्ने महाधिवेशन तयारी बैठकमा ओलीले पछिल्ला राजनीतिक घटनाक्रम समेटिएको १५ बुँदे राजनीतिक प्रतिवेदन समेत पेश गरेका छन्।
हालैको जेन–जी आन्दोलन र त्यसपछि उत्पन्न राजनीतिक उथलपुथललाई समेट्दै उनले आफ्नो भूमिकाबारे विस्तृत व्याख्या गरेका छन्।
६ पृष्ठ लामो प्रतिवेदनमा ओलीले भदौ २३ गतेको गोलीकाण्डमा आफूले कुनै आदेश नदिएको दाबी गरेका छन्।
उनले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, “गोली चलाउने अधिकार कानुनी रूपमा प्राप्त अधिकारीले मात्र दिन सक्छ, प्रधानमन्त्री त्यस्तो अधिकारी होइन।”
ओलीले दङ्गा नियन्त्रणका वैकल्पिक उपाय किन प्रयोग भएनन् भन्ने प्रश्न गर्दै,“किन दुई दर्जन युवाको ज्यान लिइयो? सयौँ घाइते बनाइयो? र भदौ २४ गते तोडफोड कसले नियोजित गर्यो?”प्रतिवेदन अनुसार, घटनापछि तत्काल मन्त्रिपरिषद्को बैठक बसेर घाइतेको निःशुल्क उपचार, मृतकका परिवारलाई राहत तथा छानबिन आयोग गठन गर्ने निर्णय भएको थियो।
ओलीले आफूमाथि लागेको आरोपलाई “नियोजित आपराधिक प्रचार” भन्दै त्यसको कडा प्रतिवाद गर्ने एमालेको आधिकारिक धारणा प्रस्तुत गरेका छन्।
यस्तै जेनजी घटनापछि पछिल्लो समय एमालेभित्र ओलीलाई नेतृत्वबाट विदा गर्नुपर्ने बहस तीव्र बनेको छ। तर सो बैठकमा उनले फेसबुकमा राजीनामा माग्यो भन्दैमा नेतृत्व नछाड्ने र पार्टी कमिटीले निर्णय नगरेसम्म आफूले पद पनि नछोड्ने बताए।










