असोज ३०, काठमाडौं ।।
निर्वाचन आयोगको आह्वानमा बिहीबार(आज) सर्वदलीय बैठक बसिरहेको छ।
आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि आयोगले उक्त बैठक आह्वान गरेको हो ।
बैठक आयोगको कान्तिपथस्थित सभाकक्षमा भइरहेको छ। सो बैठकमा संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने अधिकांश राजनीतिक दलका शीर्ष नेताहरु सहभागी भएका छन्।
बैठकको मुख्य एजेन्डा आगामी निर्वाचनका तयारी, दल दर्ता प्रक्रिया, आचारसंहिता तथा व्यवस्थापकीय तयारीबारे आयोगको प्रगतिबारे जानकारी दिने र दलहरूको सुझाव संकलन गर्ने रहेको आयोगले जनाएको छ।
आयोगका अनुसार निर्वाचनमा भाग लिन इच्छुक नयाँ राजनीतिक दलहरूले कात्तिक मसान्तभित्र दल दर्ता र प्रमाणपत्र प्राप्त गर्नुपर्नेछ।
गत भदौ २७ गते प्रतिनिधिसभा विघटन भएपछि अन्तरिम प्रधानमन्त्री पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारले फागुन २१ गते निर्वाचन मिति तोकेको थियो।









