पुसदेखि देशभर बाघ गणना अभियान सुरु हुने, तीन महिनासम्म चल्ने
  • प्रमुख खबर

कार्तिक ११, काठमाडौं ।।
नेपालमा फेरि बाघ गणना अभियान सुरु गर्ने तयारी भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आउँदो पुस महिनाबाट बाघ गणना सुरु हुने भएको हो।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार यो गणना कार्य पुस, माघ र फागुन गरी तीन महिनासम्म चल्नेछ।

विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार गणनाका क्रममा बाघ बसोबास गर्ने क्षेत्रहरूमा स्वचालित क्यामेरा ट्रयाप प्रयोग गरिनेछ, जसले बाघको तस्बिर खिचेर तिनका शरीरमा रहेका पाटाका आधारमा सङ्ख्या छुट्याइनेछ।

यस वर्ष बाघ गणनाका लागि सरकारले १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर गणनाको वास्तविक खर्च करिब १ करोड ५० लाख रुपैयाँभन्दा बढी हुने अनुमान गरिएको छ। बाँकी रकमका लागि विभिन्न दातृ निकायसँग सहयोगको पहल भइरहेको विभागले जनाएको छ।

नेपालमा हरेक चार वर्षमा एकपटक बाघ गणना गर्ने गरिन्छ। पछिल्लो पटक सन् २०२२ मा गरिएको गणनामा नेपालमा ३ सय ३५ वटा बाघ भएको तथ्याङ्क सार्वजनिक गरिएको थियो। जसअनुसार चितवनमा १ सय २८, बर्दियामा १ सय २५, पर्सामा ४१, बाँकेमा २५ र शुक्लाफाँटामा ३६ वटा बाघ फेला परेका थिए।

नेपालमा बाघ गणना औपचारिक रूपमा वि.सं. २०५५ सालबाट सुरु भएको हो।

त्यसअघि विभिन्न राष्ट्रिय निकुञ्जहरूले छुट्टाछुट्टै रूपमा अनुमानका आधारमा बाघको संख्या विवरण तयार पार्दै आएका थिए। तर २०५५ देखि भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा देशव्यापी रूपमा एकीकृत वैज्ञानिक बाघ गणना सुरु गरिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्