कार्तिक ११, मनाङ ।।
तिलिचो बेस क्याम्पमा फसेका ७ सय ५० जना पर्यटकहरुलाई नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेका छन्।
मौसममा आएको परिवर्तनका कारण हिमाली जिल्ला मनाङमा हिउँ परेपछि अलपत्र परेका ती पर्यटकहरूलाई सफलतापूर्वक उद्धार गरिएको हो ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार उद्धार गरिएका सबैलाई डिस्याङ गाउँपालिका–९ खाङसार पुर्याइएको छ।
त्यहाँ उनीहरूलाई सुरक्षित रूपमा राखिएको र आवश्यक सहयोग तथा आवासको व्यवस्था मिलाइएको बताइएको छ।
त्यस्तै अन्य ५० जनालाई भने तिलिचो बेस क्याम्पमै सुरक्षित रूपमा राखिएको र मौसम स्थिर भएसँगै उनीहरूलाई पनि तल ल्याउने तयारी भइरहेको उद्धारमा खटिएका सुरक्षा बलले जनाएको छ।
हिउँले बाटो अबरुद्ध भएपछि मनाङ घुम्न पुगेका सयौं पर्यटक खाङसारमा बसोबासको समस्यामा परेका थिए।
संयुक्त सुरक्षाबलले स्थानीय सहयोगमा आपत्कालीन व्यवस्था मिलाएर उनीहरूलाई सुरक्षित साथ फर्काउने तयारी गरिरहेको छ।
यसैबीच तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर बेहोस भएका काठमाडौं महानगरपालिका–३१ का ४५ वर्षीय वीरेन्द्र रसाइलीलाई सशस्त्र प्रहरी र नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङले खाङसारबाट हुम्डे स्वास्थ्य चौकीसम्म ल्याएर उपचारका लागि पुर्याएको छ।
सुरक्षाबलका अनुसार अहिले पनि उद्धार टोली उच्च सतर्कताका साथ हिमाली क्षेत्रमा खटिएका छन् । मौसम सुधारसँगै बाँकी फसेकाहरूको उद्धार निरन्तर जारी रहेको बताइएको छ।













