कार्तिक १२, काठमाडौं ।।
हाल नेपालमा सक्रिय पश्चिमी वायुको साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावले देशभर मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभाव स्वरूप गण्डकी प्रदेशका केही स्थानहरूमा, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू-भागका विभिन्न ठाउँमा मध्यम वर्षासहित हिमपात भइरहेको छ।
बाँकी पहाडी तथा हिमाली भागका केही स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश भू-भागमा आंशिक बदलीको स्थिति रहनेछ। आज राति पनि देशभर आंशिक बदली रहने अनुमान गरिएको छ।
मौसम विभागका अनुसार बुधबार(आज) बागमती, कोशी र कन्काई नदी र अन्य सहायक नदीहरूमा पानीको बहाव उल्लेख्य रूपमा बढ्ने सम्भावना छ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरो तथा अन्य प्राकृतिक जोखिमहरू बढ्न सक्ने चेतावनी दिएको छ।
यसले दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि र पर्यटनलगायत क्षेत्रहरूमा असर पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।













