कार्तिक १२, काठमाडौं ।।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले बुधबार(आज) राजनीतिक दलका शीर्ष नेताहरू र जेनजी प्रतिनिधिहरूसँग संयुक्त छलफल गर्न लागेकी छन्।
कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलहरू र जेनजी अगुवालाई पहिलोपटक एकै ठाउँमा राखेर छलफल गर्न लागेकी हुन् ।
विषेशगरी आगामी निर्वाचनको वातावरण बनाउने उद्देश्यले पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित त्रिपक्षीय बैठक बोलाइएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।
बैठक आज अपराह्न ४ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बैठकमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेता र जेनजी अगुवाहरू सहभागी हुनेछन्।
सरकारले राजनीतिक दल र नयाँ पुस्ताका प्रतिनिधिहरूबीच प्रत्यक्ष संवादमार्फत निर्वाचन तयारीका विषयमा साझा दृष्टिकोण बनाउने प्रयास गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलका अनुसार, “निर्वाचन सफल बनाउनका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध छलफल भइरहेको छ। आजको बैठक पनि सोही निरन्तरता हो,” उनले बताए।
यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच भएको सर्वदलीय बैठकमा निर्धारित समयमै निर्वाचन सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो। त्यसपछि सरकार र विभिन्न सरोकारवालाबीच लगातार संवाद र समन्वयका प्रयास भइरहेका छन्।
सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा परामर्श गर्दै आवश्यक पूर्वाधार र व्यवस्थापनको तयारीमा जोड दिएको छ।
लामो समयपछि भएको यस्तो औपचारिक राजनीतिक संवादले आगामी निर्वाचनप्रति सकारात्मक वातावरण बनाएको सम्बद्ध पक्षहरूको बुझाइ छ।













