कात्तिक १२, काठमाडौं ।।
रेस्क्युका लागि लोबुचे हिमाल पुगेको एक हेलिकोप्टर दुर्घटनामा परेको छ ।
अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनामा परेको हो । उक्त हेलिकोप्टर क्याप्टेन विवेक खड्काले उडाएका थिए । खड्काको अवस्था सामान्य रहेको बताइएको छ ।
“रेस्क्युको लागि गएको थियो,” कम्पनीका एक उच्च अधिकारीले भने, “मौसम खराबीका कारण दुर्घटनामा परेको अनुमान छ ।” दुर्घटना बिहान ७:५० बजेतिर भएको थियो ।
सोलुखुम्बुका एक प्रहरी अधिकारीले दिएको जानकारीअनुसार रेस्क्युका लागि गएको हेलिकोप्टर दुर्घटनामा परेको हो । “बिहान हेलिप्याडमा अवतरण गर्ने बेलामा चिप्लो भएर दुर्घटनामा परेको हो,” उनले भने,“चालकको अवस्था सकुसल छ । अर्को हेलिकोप्टरबाट उद्धार गरिएको छ ।”













