कार्तिक १३, काठमाडौं ।।
नागरिक उन्मुक्ति पार्टीमा देखिएको लामो विवादपछि पूर्व सांसद रेशम चौधरीले नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका छन्।
आफैं संरक्षक र रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीबाट अलग भएर बिहीबार(आज)चौधरीले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
उनले ४५ सदस्यीय केन्द्रीय कार्यसमिति सहित ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका छन्।
उनको नयाँ पार्टीमा हालै जनमत पार्टीका डा. सीके राउतसँग मतभेदपछि पार्टी त्याग गरेका अब्दुल खानलाई वरिष्ठ उपाध्यक्ष बनाइएको छ। त्यसैगरी उमाशंकर चौधरी महासचिव र जेनजी पुस्ताका कबीर सोप अध्यक्ष रहेका छन्।
रेशम चौधरीले २०७८ पुस १९ गते जेलमै रहेका बेला आफ्नी श्रीमती रञ्जिता श्रेष्ठको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) दर्ता गराएका थिए।
उनको यस पार्टीले २०७९ को प्रतिनिधि सभा चुनावमा उल्लेखनीय सफलता प्राप्त गरेको थियो। तर, पार्टी नेतृत्वको विषयमा मतभिन्नता बढ्दै गएपछि रेशम र रञ्जिताबीच दूरी बढ्दै गयो।
फलस्वरूप अहिले उनको यस पार्टीमा उनको श्रीमती साथै अन्य परिवारका सदस्यलाई समेत समावेश गरिएको छैन ।
यता, उनको श्रीमती रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउँदै रामलाल चौधरीको नेतृत्वमा नागरिक उन्मुक्ति पार्टी पुनर्गठनको अर्को प्रयास पनि निर्वाचन आयोगमा दर्ता गरिएको छ।
यसबीच, रेशम चौधरीले भने नयाँ राजनीतिक बाटो रोज्दै नागरिक उन्मुक्ति पार्टी नेपालको स्थापना गरेका छन्।
पछिल्लो समय जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकताको प्रयास भएपनि रेशम चौधरी थुनामा परेपछि त्यो प्रक्रिया टुंगिन सकेको थिएन।
अब उनका निकट सहयोगी अब्दुल खानको साथमा नयाँ दल दर्ता भएको घटनाले मधेस केन्द्रित राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ।









