कार्तिक २२,काठमाडौं
चन्द्रागिरि केबलकार तथा रिसोर्ट (चन्द्रागिरि हिल्स) शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ। गत भदौ २४ गते भएको तोडफोडका कारण केबलकारको बटम स्टेशनमा ठूलो क्षति पुगेको थियो, जसका कारण सेवा अवरुद्ध भएको थियो।
सेवा पुनः सुचारु भएपछि नेपालकै प्रमुख धार्मिक र पर्यटकीय गन्तव्य भालेश्वर महादेव मन्दिर दर्शन गर्न भक्तजनहरूलाई सहज भएको व्यवस्थापनले जनाएको छ। साथै, पर्यटकहरूले रिसोर्टको आतिथ्य र अन्य सेवाहरू पनि पुनः उपभोग गर्न सक्ने भएका छन्।
“महिना लाग्ने कार्यलाई दुई महिनाभित्र सञ्चालनमा ल्याउन हामी सफल भएका छौं,” चन्द्रागिरि हिल्सका कार्यकारी प्रमुख अरुण प्रधानले बताए। उनका अनुसार सेवा बन्द हुनु अघि दैनिक करिब दुई हजार भक्तजन तथा पर्यटकहरूले केबलकार सेवा प्रयोग गर्दै आएका थिए।
चन्द्रागिरि हिल्स व्यवस्थापनले सेवा पुनः सञ्चालनमा ल्याउन सहयोग गर्ने स्थानीय समुदायप्रति आभार व्यक्त गरेको छ।











