जनकपुरको होटलमै भयो सत्ता हस्तान्तरण : मधेश प्रदेशमा एमालेको नयाँ सरकार गठन
  • प्रमुख खबर

कार्तिक २४, जनकपुर ।।
मधेश प्रदेशमा सत्ता परिवर्तनसँगै नयाँ राजनीतिक अध्याय सुरु भएको छ।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।

संविधानको धारा १६८ को उपधारा ३ अनुसार सबैभन्दा ठूलो दलको नाताले यादवलाई मुख्यमन्त्री बनाइएको हो।

यो नियुक्ति पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिएपछि गरिएको हो। बिहानै जनकपुरस्थित एक होटलमा प्रदेश प्रमुख भण्डारीले यादवलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।

यद्यपि एकाबिहानै भण्डारी अस्वस्थ भएको कारण काठमाडौं प्रस्थान गरेको खबर बाहिरिएपछि राजनीतिक वृत्तमा चासो बढेको थियो। तर केही समयमै उनले नयाँ मुख्यमन्त्री नियुक्त गरेको पत्र सार्वजनिक भएपछि घटनाक्रमले अप्रत्याशित मोड लिएको हो।

राजीनामा दिएर सत्ताबाट बाहिरिएका निवर्तमान मुख्यमन्त्री सोनलले प्रदेश प्रमुखको कदमप्रति असन्तोष व्यक्त गर्दै यो निर्णयले प्रदेशको अस्मिता समाप्त गरेको टिप्पणी गरेका छन्।

विश्वासको मत गुमेपछि शनिबार सोनलले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए। अहिले एमाले नेतृत्वको नयाँ सरकार गठन भएसँगै मधेश प्रदेशको राजनीति पुनः नयाँ समीकरणमा प्रवेश गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्