कार्तिक २५, जनकपुर ।।
मधेश प्रदेशमा नयाँ राजनीतिक मोड आएको छ। पदीय मर्यादाविपरीत सोमबार बिहानै जनकपुर स्थित एक होटलमा मुख्यमन्त्रीको शपथ गराएर विवादमा तानिएकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई सरकारले पदमुक्त गरेको छ।
सरकारको हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई बर्खास्त गर्ने निर्णय गर्दै नयाँ प्रदेश प्रमुखका रूपमा कर्णलाई सिफारिस गरेको हो।
कर्णले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् । उनी सन् २०७८ मा राष्ट्रिय योजना आयोगका सदस्य समेत भएर काम गरिसकेका छन् ।
विषेशगरी विवादको सुरुवात हिजो बिहान देखि भएको थियो, जब भण्डारीले एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्रीको रूपमा नियुक्त गरी शपथ ग्रहण गराएकी थिइन्।
यो कदमलाई संवैधानिक मर्यादाको उल्लङ्घन भन्दै दिनभर जनकपुरधाम तनावग्रस्त समेत बनेको थियो ।
यसअघि तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने प्रक्रिया सुरु हुनुअघि नै राजीनामा दिएका थिए। त्यसपछि प्रदेशमा सत्ता सन्तुलनमा फेरबदल हुँदै एमाले नेतृत्वमा नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।










