कार्तिक २६, पोखरा ।।
लामो समयदेखि प्रतीक्षामा रहेको पोखरा महानगरपालिकाको भूमि वर्गीकरण कार्य पहिलो चरणमा सम्पन्न भएको छ।
भू–उपयोग परिषद्ले वडा नं. १ देखि १० र वडा नं. १२ सम्मका वडाको भूमि वर्गीकरण कार्यको पहिलो चरण सम्पन्न भएको हो ।
वर्गीकरण गरिएको सो क्षेत्रका सबै कित्ता विवरण मालपोत तथा नापी कार्यालय कास्कीलाई औपचारिक रूपमा हस्तान्तरण समेत गरेको छ।
पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा भूमि वर्गीकरणको विवरण मंगलबार दुवै कार्यालयलाई हस्तान्तरण गरेका हुन्।
यससँगै महानगरले भूमि प्रयोग र वर्गीकरणमा स्पष्टता ल्याउने दिशामा महत्वपूर्ण कदम अघि बढाएको छ। नगर प्रमुख आचार्यले अब दोस्रो चरणमा बाँकी वडाहरूको वर्गीकरण कार्य तीव्र गतिमा अघि बढाइने जानकारी दिए।
उनले भने, “छिट्टै सम्पूर्ण वडाको काम सम्पन्न गरी भूमि उपयोग र वर्गीकरणसँग सम्बन्धित अन्यौलता अन्त्य गरिनेछ।”
महानगरले भूमि वर्गीकरण सम्पन्न भएपछि शहरी योजना, पूर्वाधार विकास तथा निजी सम्पत्तिको व्यवस्थापनमा समेत सहजता आउने विश्वास व्यक्त गरेको छ।









