कार्तिक २८, काठमाडौं ।।
निर्वाचन आयोगले प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा सहभागी हुन इच्छुक राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ।
आयोगले शुक्रबार(आज) सार्वजनिक गरेको सूचना अनुसार आगामी मंसिर पहिलो सातादेखि दल दर्ता प्रक्रिया औपचारिकरूपमा खुला हुनेछ।
प्रतिनिधिसभा निर्वाचनका लागि मंसिर १ देखि १० गते भित्र दलहरूले दर्ता निवेदन बुझाउन सक्नेछन्। त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि मंसिर १ देखि ७ गते सम्मको समय सीमा निर्धारण गरिएको छ।
आयोगले प्रतिनिधिसभा चुनावमा एउटै चुनाव चिन्हसहित संयुक्त रूपमा सहभागी हुन चाहने दुई वा बढी दलले समायोजन सम्बन्धी जानकारी समेत दर्ता निवेदनसाथै पेस गर्नुपर्ने जनाएको छ।
फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक–तिहाइ सदस्यको पूर्तिका लागि माघ ११ गते चुनाव तोकिएको छ।
त्यस्तै प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते मतदान मिति निर्धारण गरिएको आयोगले जनाएको छ।









