मधेशको राजनीतिक उथलपुथल : सर्वोच्चमा सुनुवाइ स्थगित, आन्दोलन जारी
  • प्रमुख खबर

कार्तिक ३०, जनकपुर ।।
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको नियुक्ति सम्बन्धी विवादमा सर्वोच्च अदालतले गर्ने भनिएको सुनुवाइ एक दिन पछाडि सारिएको छ।

अन्तरिम आदेशका सम्बन्धमा सुनुवाइका लागि आइतबार(आज) न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा तोकिएको थियो । तर सुनुवाइ स्थगित गर्दै अदालतले भोलि पुनः प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।

मधेश प्रदेशमा उत्पन्न राजनीतिक विवादबारे ७४ जना सांसदहरूले दायर गरेको रिटमा तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीद्वारा होटलमा सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रक्रियामाथि प्रश्न उठाइएको छ।

सर्वोच्चले यसअघि कात्तिक २३ गते सो नियुक्तिसम्बन्धी सम्पूर्ण कागजात पेश गर्न आदेश दिइसकेको थियो।

यता प्रदेश सरकार गठनविरुद्ध सात राजनीतिक दलले जनकपुरधाममा चलाइरहेको आन्दोलन आज पनि जारी छ।

दलहरूले मुख्यमन्त्री नियुक्ति प्रक्रियालाई असंवैधानिक भन्दै दबाब कार्यक्रम निरन्तरता दिएका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्