मंसिर ४, पोखरा ।।
जिल्ला प्रशासन कार्यालय कास्कीले जेनजी आन्दोलनका क्रममा घाइते भई अहिले पनि पूर्ण रूपमा निको नभएकाहरूलाई आगामी मंसिर ७ गते (आइतबार) वर्गीकरण प्रक्रियामा अनिवार्य रूपमा सहभागी हुन आग्रह गरेको छ।
गृह मन्त्रालयबाट प्राप्त निर्देशन तथा जेनजी प्रदर्शनका घाइतेहरूको वर्गीकरण कार्यविधि–२०८२ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बनेको वर्गीकरण सहजीकरण समितिले तोकिएको मिति र स्थानमा उपस्थित भएर विवरण उपलब्ध गराउन अनुरोध गरेको हो।
सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालका अनुसार २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा घाइते भई प्रशासनबाट परिचय-पत्र प्राप्त गरिसकेका तर उपचारपछि पनि स्वास्थ्य अवस्था सामान्य अवस्थामा फर्कन नसकेका व्यक्तिहरू पहिलो चरणको वर्गीकरणमा समावेश गरिनेछन्।
यसपछि तयारी सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको प्राविधिक समितिमा पठाइने उनले बताए। जिल्ला प्रशासनका अनुसार वर्गीकरण सम्पन्न भएपछि विस्तृत प्रतिवेदन गृह मन्त्रालयमा पठाइनेछ।












