मंसिर ४, काठमाडौं ।।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको महाधिवेशन बैठक फेरि स्थगित भएको छ।
बिहीबार(आज) दिउँसो बस्ने भनिएको बैठक महाधिवेशन समयमै सम्पन्न गर्ने विषयमा नेताहरूबीच सहमति नहुँदा पर्सि शनिबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको हो।
अहिलेसम्म चार पटक बैठक स्थगित भएको हो । पार्टीको विधानले मंसिरभित्रै महाधिवेशन सम्पन्न गर्नुपर्ने स्पष्ट व्यवस्था गरेपनि कार्यसमिति लामो समयदेखि निर्णयविहीन अवस्थामा छ।
पार्टी विधान अनुसार विशेष कारण देखाएर कार्यकाल एक वर्षसम्म बढाउन सकिने व्यवस्था भएपनि महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले फागुन २१ गते तोकिएको चुनावअघि महाधिवेशन सम्पन्न हुनुपर्ने अडान लिएको बताएका छन्। तर संस्थापन पक्षका पूर्व पदाधिकारीहरू भने वैशाख अगाडि महाधिवेशन गर्न इच्छुक देखिएका छैनन्।
महाधिवेशनका विषयमा दुई पक्षको अडान तालमेल नहुँदा कांग्रेस केन्द्रिय कार्यसमिति अनिर्णयको चक्रमा फसेको छ।
कात्तिक २७ गते पदाधिकारी र सदस्यहरूले धारणा व्यक्त गरेपनि निर्णय नलिनुले कार्यसमितिको अक्षमता र अयोग्यताको प्रश्न उठाउन नेताहरू र कार्यकर्ताहरू सार्वजनिक रूपमा लागेका छन्।









