मङ्सिर ९, काठमाडौँ
गत भदौ २३ र २४ गतेका विरोध प्रदर्शन (जेनजी आन्दोलन) का क्रममा भएको आगजनी र तोडफोडका अभियोगमा २६७ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार हालसम्म तोडफोड र आगजनीका आरोपमा एक सय ५४ वटा मुद्दा दर्ता भइसकेका छन्। प्रहरीले हाजिर जमानीमा ८७ जनालाई छाडेको जनाएको छ।
एक सय १३ जनामाथि अहिले पनि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ। तीमध्ये ३३ जनालाई धरौटीमा छाडिएको छ भने पुर्पक्षका लागि ४३ जनालाई थुनामा पठाइएको छ। आगजनी, तोडफोड तथा आपराधिक उपद्रवसम्बन्धी एक सय चार वटा जाहेरी दर्ता भएका छन्।
तीमध्ये व्यक्तिगत २२, सरकारी कार्यालयका ६६ तथा संस्थागत–व्यापारिक प्रतिष्ठान, सर्वोच्च अदालत र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आगजनी/तोडफोड गरेको आरोपमा १६ वटा जाहेरी दर्ता भएका छन्।
हालसम्म ४२ वटा जाहेरी दर्ता भइसकेका छन्, जसमा तीन जना प्रहरी कर्मचारीसम्बन्धी पनि छन्। पहिचान नखुलेका सात जनाको डिएनए परीक्षण प्रक्रिया अघि बढाइएको छ। आन्दोलनका क्रममा हराइएका भनिएकाको हुलिया पनि प्राप्त भएको प्रहरीले जनाएको छ।
आन्दोलनका क्रममा भवन संरचनामा भएको क्षतिको २२८ वटा मुचुल्का तयार गरिएको छ। यसैबीच, प्रदर्शनकै क्रममा विभिन्न कारागारबाट भागेका १०२ जना कैदीबन्दीलाई पक्राउ गरी पुनः कारागारमा दाखिला गरिएको छ।
प्रहरीले हालसम्म ८३ नाल हतियार समेत बरामद गरी दाखिला गरेको जनाएको छ।








