मंसिर १२, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहयोगको अपील गरेकी छन्।
बिहीबार एमाले महासचिव शंकर पोखरेलसहित शीर्ष नेताहरूसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले निर्वाचन गराउन सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको स्पष्ट पार्दै सबै राजनीतिक दलको सहकार्य अपरिहार्य भएको बताएकी हुन्।
भेटमा प्रधानमन्त्रीले मुलुकलाई संवैधानिक निकास दिन र जनतालाई मतदानको अधिकार सुनिश्चित गर्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्दै एमालेको सक्रिय भूमिका आवश्यक पर्ने धारणा राखिन्।
यता, एमालेले भने वर्तमान अवस्थामा चुनावी वातावरण अनुकूल नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।
वार्तामा सहभागी विघटित प्रतिनिधिसभामा एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाका अनुसार पार्टीले सुरक्षा अवस्था, कानुन व्यवस्था र विश्वसनीय चुनावी वातावरणबारे प्रधानमन्त्रीसमक्ष गम्भीर चिन्ता व्यक्त गरे।
एमालेले हालै कारागारबाट फरार भएका कैदीबन्दी अझै पक्राउ नपर्नु, लुटिएका हतियार फिर्ता नहुनुजस्ता घटनाले चुनावी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको भन्दै तत्काल ती समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।
त्यस्तै पार्टीले सेवानिवृत्त भएलगत्तै निवर्तमान प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङलाई स्थान हद तोकिएको विषयप्रति पनि असन्तुष्टि जनाएको छ।
यस्ता निर्णयले सुरक्षा संयन्त्रमा अन्योल र अविश्वास सिर्जना गरेको एमालेको ठहर रहेको छ।
भेटमा सहभागी एमाले नेताहरूले आफूहरू चुनावको विरोधी नभएको स्पष्ट पार्दै निष्पक्ष, सुरक्षित र विश्वसनीय वातावरण सुनिश्चित भएमा निर्वाचन प्रक्रियामा सहकार्य गर्न तयार रहेको बताएका थिए।
उक्त भेटलाई आगामी निर्वाचनका सन्दर्भमा सरकार र प्रमुख प्रतिपक्षी दलबीचको महत्वपूर्ण संवादका रूपमा हेरिएको छ। तर एमालेले उठाएका सुरक्षा र विश्वासका विषय सरकारका लागि चुनौतीपूर्ण बनेका छन्।










