मंसिर १४, काठमाडौं ।।
नेकपा (एमाले)ले आफ्नो बहुप्रतीक्षित ११औँ राष्ट्रिय महाधिवेशनको लोगो आइतबार(आज) सार्वजनिक गर्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा महाधिवेशनको लोगो सार्वजनिक गर्ने कार्यक्रम तय भएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिएका छन्।
महाधिवेशनलाई लिएर एमालेले संगठनात्मक तयारीलाई तीव्र बनाउँदै लगेको छ। शनिबार मात्रै प्रतिनिधि छनोटको प्रक्रिया सम्पन्न भएसँगै अब पार्टी महाधिवेशनको माहोल थप तातिँदै गएको छ।
एमालेको आगामी दिशा तय गर्ने यो महाधिवेशन मंसिर २७ गते भक्तपुरको सल्लाघारीमा भव्य उद्घाटन हुने तय भएको छ।
विषेशगरी नेतृत्व चयनदेखि नीतिगत निर्णयसम्म ऐतिहासिक महत्व बोकेको यस महाधिवेशनलाई लिएर देशभरका नेता–कार्यकर्तामा उत्साह बढ्दो छ।
आज सार्वजनिक हुने महाधिवेशनको लोगोले एमालेको भावी यात्राको सन्देश बोकेको प्रतीकका रूपमा समेत हेरिँदै आएको छ।
पार्टीले महाधिवेशनलाई ऐक्यबद्धता, परिवर्तन र नयाँ ऊर्जा सहित सम्पन्न गर्ने दाबी गरेको छ।










