मंसिर १६, पोखरा ।।
नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै मंसिर मसान्तभित्रै उम्मेदवार सिफारिस गर्न देशभरका पार्टी निकायलाई औपचारिक निर्देशन दिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार सम्पन्न केन्द्रीय कार्यसमिति बैठकको निर्णय अनुमोदन गर्दै सम्बन्धित सबै तहका पार्टी संरचनालाई परिपत्र जारी गरेका हुन्।
यस निर्णयसँगै कांग्रेसको चुनावी रणनीति औपचारिक रूपमा ‘एक्सन मोड’ मा प्रवेश गरेको संकेत देखिएको छ।
केन्द्रीय कार्यसमितिको निर्णयमा उल्लेख भएअनुसार, राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवार विधानको धारा ३२ को उपधारा ९ (क) बमोजिम सिफारिस गरिनेछ।
यस्तै प्रतिनिधिसभातर्फका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार पनि धारा ३२ को उपधारा ८ (क) अनुसारै छनोट गरिनेछन्।
उक्त निर्णयमा भनिएको छ,“११ माघ २०८२ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि विधानबमोजिमको प्रक्रिया पूरा गरी उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्न केन्द्रीय कार्यालयमार्फत स्पष्ट निर्देशनसहित परिपत्र गर्ने।”
यसले कांग्रेसभित्र उम्मेदवार चयन प्रक्रिया औपचारिक, विधि-सम्मत र समयबद्ध ढंगले अघि बढाइने स्पष्ट संकेत दिएको छ।
त्यस्तै कांग्रेसले तल्ला तहबाट मंसिर मसान्तभित्र सबै नाम प्राप्त भएपछि राष्ट्रियसभा, प्रत्यक्ष र समानुपातिक—तीनै प्रकारका उम्मेदवारको टिकट एकैपटक वितरण गर्ने योजना सार्वजनिक गरेको छ।
यस योजनालाई लिएर पार्टीभित्र रणनीतिक एकरूपता र राजनीतिक सन्तुलन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। एउटै चरणमा टिकट वितरण हुँदा आन्तरिक असन्तुष्टि व्यवस्थापन र शक्ति सन्तुलन मिलाउन सहज हुने कांग्रेस नेतृत्वको बुझाइ छ।
कांग्रेसको यस निर्णयसँगै देशभर पार्टी संगठनभित्र उम्मेदवार बन्ने आकांक्षीहरू सक्रिय हुन थालेका छन्।
स्थानीय तहदेखि प्रदेश र संघीय तहसम्म आन्तरिक लबिङ, समीकरण र छलफलले गति लिने संकेत देखिएको छ।
विशेषगरी राष्ट्रियसभा निर्वाचन र त्यसपछिको प्रतिनिधिसभा निर्वाचनलाई जोडेर टिकट वितरण गर्ने कांग्रसको निर्णयले आन्तरिक प्रतिस्पर्धा अझ चर्किने तर संगठनात्मक अनुशासन पनि मजबुत हुने विश्लेषण भइरहेको छ।









