समानुपातिक निर्वाचन प्रक्रियामा सहभागी हुन निर्वाचन आयोगद्वारा दलहरूलाई आवेदन दिन आह्वान
  • प्रमुख खबर

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

मंसिर १९, काठमाडौं ।।
निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ सहभागी हुन चाहने राजनीतिक दलहरूलाई औपचारिक रूपमा आवेदन खुला गरेको छ।

आयोगले शुक्रबार(आज) सार्वजनिक गरेको सूचना अनुसार भोलिदेखि सुरु हुने यस प्रक्रियामा मंसिर २१ गते बिहान १० बजेदेखि मंसिर २३ गते दिउँसो ४ बजेसम्म दलहरूले निवेदन पेश गर्न सक्नेछन्।

यसअघि नै आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा समानुपातिक निर्वाचन प्रणालीका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ।

आयोगका सचिव महादेव पन्थलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिइएको छ।

आवेदन दिएका राजनीतिक दलहरूको नामावली मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सार्वजनिक गरिने आयोगले जनाएको छ।

त्यसपछि ती दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म आफ्नो उम्मेदवारको बन्दसूची पेश गर्नुपर्नेछ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आगामी माघ ८ गते उम्मेदवारहरूको नामावली प्रकाशित गरिनेछ भने माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन्। सोही दिन अन्तिम नामावली प्रकाशन गर्दै निर्वाचन चिन्ह पनि प्रदान गरिनेछ।

प्रतिनिधिसभा निर्वाचन आउन अब करिब ९० दिन मात्र बाँकी रहेको अवस्थामा आयोगले राष्ट्रियसभाको निर्वाचनको तयारीसमेत तीव्र बनाएको छ।

माघ ११ गते राष्ट्रियसभाको निर्वाचन गर्ने कार्यतालिका अनुसार तयारी अघि बढाइएको आयोगले जनाएको छ। आयोगको यो सक्रियतासँगै मुलुकमा निर्वाचनको माहोल अझ तातिँदै गएको छ।

दलहरू आन्तरिक तयारीमा जुटिसकेको अवस्थामा समानुपातिक प्रणालीतर्फको आवेदनसँगै चुनावी गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्