मंसिर १९, काठमाडौं ।।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको जिम्मेवारी युवा तथा खेलकुद मन्त्रालयका सहसचिव राम चरित्र मेहताले औपचारिक रूपमा सम्हालेका छन्।
झण्डै एक सातादेखि रिक्त रहेको सदस्य सचिवको पदमा मन्त्रालयले अर्को व्यवस्था नभएसम्मका लागि मेहतालाई जिम्मेवारी दिएको हो।
युवा तथा खेलकुद मन्त्रालयको मंसिर १६ गतेको निर्णयअनुसार, खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (१२) बमोजिम सहसचिव मेहतालाई कार्यवाहक सदस्य सचिवको जिम्मेवारी दिइएको हो।
यसअघि सदस्य सचिव रहेका टंकलाल घिसिङले मंसिर १२ गते आफ्नो चार वर्षे कार्यकाल पूरा गर्दै विदा लिएपछि उक्त पद रिक्त रहेको थियो।
राखेप परिसरमा शुक्रबार(आज)आयोजित एक कार्यक्रमबीच मेहताले औपचारिक रूपमा पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि सम्बोधन गर्दै उनले परिषद्का सम्पूर्ण कर्मचारीहरूलाई सुशासन, पारदर्शिता र कानुनी मर्यादाभित्र रहेर कार्य सम्पादन गर्न स्पष्ट निर्देशन दिए।
उनले भने,“मेरो कार्यकाल जुनसुकै अवधिको भए पनि परिषद्लाई नमूना योग्य संस्था बनाउने मेरो प्रयास रहनेछ । “खेलकुद क्षेत्रलाई व्यवस्थित, उत्तरदायी र परिणाममुखी बनाउनेतर्फ सबै मिलेर अघि बढ्नुपर्छ।”
यस्तै उक्त कार्यक्रममा परिषद्का कार्यकारी समिति सदस्य कमल बहादुर भट्टराई र कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले वर्तमान समयमा राखेपअगाडि थुप्रै महत्वपूर्ण दायित्वहरू रहेको उल्लेख गरे।
उनीहरूका अनुसार दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी, परिषद्को संगठन संरचना पुनर्संरचना र व्यवस्थापन सर्भे जस्ता विषयहरू तत्कालीन प्रमुख प्राथमिकतामा रहेका छन्।
उनीहरूले नयाँ सदस्य सचिवको नेतृत्वमा ती सबै कामहरू प्रभावकारी ढंगले अघि बढ्ने विश्वास समेत व्यक्त गरे।
सहसचिव मेहता लामो समयदेखि युवा तथा खेलकुद मन्त्रालयको प्रशासनिक नेतृत्वमा रहँदै आएका अनुभवी सरकारी अधिकारी हुन्।
खेलकुद नीतिनिर्माण र प्रशासनिक सुधारमा उनको अनुभव रहेकोले राखेपको कार्यसम्पादन अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ।













