प्लेअफबाट बाहिरिएका चितवन र पोखराबीच अन्तिम भिडन्त आज: सम्मानका लागि संघर्ष हुने
  • प्रमुख खबर

मंसिर २०, काठमाडौं ।।
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शनिवार (आज) त्रिवि क्रिकेट रंगशालामा दुईवटा रोमाञ्चक खेल हुँदैछन्।

प्रतियोगिताको प्लेअफ नजिकिँदै गर्दा आजका खेलहरूले अंकतालिकाको अन्तिम स्वरूप निर्धारण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

आज हुने पहिलो खेलमा तालिकाको शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र तेस्रो स्थानमा रहेको विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ।

दुवै टोली यसअघि नै प्लेअफमा पुगिसकेका हुनाले यो खेल प्रतिष्ठाको लडाइँका रूपमा पनि हेरिएको छ।

सुदूरपश्चिम रोयल्स हालसम्म लगातार ६ खेल जित्दै १२ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। एनपीएलको यस दोस्रो संस्करणमा सुदूरपश्चिम एक मात्र अपराजित टोली बनेको छ, जसले टोलीको आत्मविश्वास निकै उच्च बनाएको छ।

यता विराटनगर किंग्सले पनि उत्कृष्ट प्रदर्शन गर्दै ६ खेलमा ४ जित र २ हारसहित ८ अंक जोडेको छ। हाल विराटनगर तालिकाको तेस्रो स्थानमा छ। यदि विराटनगरले आज सुदूरपश्चिमलाई पराजित गर्न सके दोस्रो स्थानमा उक्लने सम्भावना पनि जीवित रहनेछ।
यसैले आजको खेल दुवै टोलीका लागि निकै प्रतिस्पर्धात्मक हुने निश्चित छ।

यस्तै आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन्। यी दुवै टोली प्लेअफको दौडबाट भने बाहिरिसकेका छन्। तर प्रतियोगिताबाट सम्मानजनक विदाइका लागि दुवै टोली जितको खोजीमा मैदानमा उत्रँदै छन् ।

चितवन राइनोजले ६ खेलमध्ये २ खेल जित्दै ४ खेलमा हार बेहोरेको छ र हाल तालिकाको छैठौँ स्थानमा रहेको छ।

पोखरा एभेन्जर्सको अवस्था पनि कमजोर रहँदै आएको छ। पोखराले हालसम्म ६ खेलमध्ये ४ खेलमा हार व्यहोर्दै मात्र २ अंक जोडेको छ र तालिकाको पाँचौँ स्थानमा छ।

चितवन र पोखरासँगै कर्णाली र जनकपुर पनि यस सिजनमा प्लेअफ समिकरणबाट बाहिरिसकेका छन्।

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्