प्रतिनिधिसभा चुनावको तयारी तीव्र, आजदेखि समानुपातिक प्रक्रिया सुरु
  • प्रमुख खबर

मंसिर २१, काठमाडौं ।।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८८ दिन मात्र बाँकी रहँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र बनाएको छ ।

यता आउँदो फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै राजनीतिक दलहरूले पनि आन्तरिक तयारीलाई तीव्र रूप दिएका छन् ।

आयोगले आइतबार(आज)देखि समानुपातिक निर्वाचन प्रणालीतर्फको औपचारिक प्रक्रिया सुरु गरेको छ ।

आज बिहान १० बजेखि दिउँसो ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिक प्रणालीका लागि आवेदन दिन सक्ने समयसीमा तोकिएको छ ।

आवेदन दिएका राजनीतिक दलहरूको अन्तिम सूची मंसिर २४ गते सार्वजनिक गरिनेछ । त्यसपछि सम्बन्धित दलहरूले पुस १३ र १४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची पेश गर्नुपर्ने आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार समानुपातिकतर्फको उम्मेदवारको अन्तिम बन्दसूची माघ ३० गते प्रकाशित हुनेछ ।

कुल २ सय ७५ सदस्यीय प्रतिनिधिसभामध्ये १ सय १० सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित हुने संवैधानिक व्यवस्था छ ।

यस्तै प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता हुनेछ । सोही दिन उम्मेदवारको प्रारम्भिक सूची प्रकाशन गरिनेछ ।

माघ ७ गते उम्मेदवारी विरुद्ध उजुरी दिने समय, ८ गते उम्मेदवारको नामावली प्रकाशन, ९ गते उम्मेदवारी फिर्ता लिन सकिने र सोही दिन अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न प्रदान गरिनेछ।

विषेशगरी निर्वाचन हुन्छ कि हुँदैन भन्ने अन्योलताकाबीच आयोगले तोकेको कार्यतालिका अनुसार निर्वाचन प्रक्रिया अघि बढ्ने र सबै तयारी समयमै सम्पन्न गर्ने तयारी भइरहेको जनाएको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्