जेनजी आन्दोलनको अपमान नगर्न प्रधानमन्त्री कार्कीलाई मिराज ढुङ्गानाको कडा चेतावनी
  • प्रमुख खबर

Oplus_131072

मंसिर २१, काठमाडौं ।।
जेनजी अभियन्ता मिराज ढुङ्गानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनको अपमान नगर्न कडा चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनका अभियन्ता प्रकाश शर्मालाई रिहाइ गर्न माग गर्दै ढुङ्गाना शनिबार जिल्ला प्रहरी परिसर काठमाडौं पुगेका थिए ।

प्रहरी परिसर अगाडि सञ्चारकर्मीसँग कुरा गर्दै ढुङ्गानाले अहिलेको अन्तरिम सरकारले जेनजी युवाहरूको आवाजलाई दबाउने प्रयास भइरहेको आरोप लगाए ।

उनले सरकार आन्दोलनप्रति संवेदनशील नदेखिएको भन्दै गम्भीर आपत्ति जनाए । उनले भने,“हाम्रो आन्दोलन देश विकास, सुशासन र युवा सहभागिताका लागि हो तर सरकारले यसलाई नजरअन्दाज र दमन गरिरहेको छ।”

ढुङ्गानाले आगामी निर्वाचनपछिको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा आफूहरूले नगरेको स्पष्ट पारे ।

उनले पुराना दलका नेताहरू पुनः शासनसत्तामा फर्कने सम्भावनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै भने, “पुरानै शैली र सोचका नेताहरू फेरि सरकारमा फर्किए देशले नयाँ दिशामा अगाडि बढ्न सक्दैन।”

उनले अन्तरिम सरकार नै असफल भइसकेको दाबी गर्दै प्रधानमन्त्री कार्कीले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुपर्ने माग समेत गरे ।

“अन्तरिम सरकार नै हाइज्याक भएको छ, जेनजी युवाहरूका जायज मागहरूलाई सुनुवाइ नै गरिएको छैन,” ढुङ्गानाको आरोप छ ।

भदौ २३ गते भएको आन्दोलनका क्रममा घटेको घटनाको निष्पक्ष छानबिन नगरी भदौ २४ गतेको आन्दोलनमा सहभागी भएका युवाहरूलाई मात्रै प्रहरीले नियन्त्रणमा लिएको उनले दाबी गरे ।

“पहिलेको घटनाको सत्य बाहिर नल्याई पछिल्लो दिन शान्तिपूर्ण रूपमा सहभागी भएका युवाहरूलाई मात्र पक्राउ गर्नु अन्यायपूर्ण हो,” उनले भने ।

ढुङ्गानाले अभियन्ता प्रकाश शर्मालाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको दाबी गर्दै उनको तत्काल रिहाइको माग गरे ।

उनले अन्य जेनजी युवाहरूलाई पनि त्रास देखाउने उद्देश्यले राज्य शक्ति दुरुपयोग गरिएको आरोप लगाए ।

जेनजी आन्दोलनले पछिल्लो समय युवा सहभागिता, सुशासन, भ्रष्टाचारविरुद्धको आवाज, रोजगारी तथा राजनीतिक सुधारका मुद्दालाई उठाउँदै देशव्यापी रूपमा गतिविधि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्