मंसिर २५,काठमाडौँ
भिजिट भिसा दुरुपयोग प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित सात जना र दुई वटा कम्पनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार घुस–रिसवत र सम्पत्ति शुद्धीकरणका गरी दुई छुट्टाछुट्टै मुद्दा पेस भएका छन्। घुस रिसवतसम्बन्धी मुद्दामा भट्टराईसहित सात जना र दुई कम्पनी प्रतिवादी बनेका छन् भने सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टराई, कविता पौडेल र खेमराज सुवेदी गरी तीन जनालाई आरोप लगाइएको छ। शुद्धीकरण मुद्दामा तिनीहरूविरुद्ध एक करोड ३ लाख ७९ हजार ६ सय रुपैयाँ बिगो कायम गरिएको छ।
घुस रिसवतको मुद्दामा सहसचिव भट्टराईसँगै अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का र राम खड्का, फ्यामिली होलिडेज एन्ड टुरका दीपक भण्डारी, सिआइएसटीकी ल्याब सहायक कविता पौडेल र जग्गा व्यवसायी खेमराज सुवेदी समावेश छन्। कम्पनीतर्फ ग्रिनलाइन होलिडेज र फ्यामिली होलिडेज एन्ड टुरलाई प्रतिवादी बनाइएको छ।
भ्रष्टाचार प्रकरणमा विभिन्न व्यक्तिमाथि फरक–फरक बिगो कायम गरिएको छ—भट्टराई, कविता पौडेल र खेमराज सुवेदीमाथि ७९ लाख ८० हजार रुपैयाँ, यज्ञराज अर्यालमाथि ८ लाख, दीपक भण्डारीमाथि १० लाख ६० हजार, बालकृष्ण र राम खड्कामाथि ३० लाख २० हजार रुपैयाँका दरले बिगो निर्धारण गरिएको छ।
अख्तियारका अनुसार २५७ जनालाई भिजिट भिसामा विदेश पठाउने नाममा बदनियतपूर्वक घुस असुलेर भ्रष्टाचार गरेको प्रमाणसहित आरोपपत्र पेस गरिएको हो।









