मंसिर २६, काठमाडौं ।।
प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो कार्यकालमा चौथो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्।
सरकार सञ्चालनको गति र प्रभावकारितालाई थप मजबुत बनाउने उद्देश्यसहित चौथो पटक मन्त्रिपरिषद् विस्तार भएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार (आज) दिउँसो ३ बजे नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराइदैँछ ।
विस्तार गरिएको मन्त्रिपरिषद्मा चार जना नयाँ मन्त्री समावेश भएका छन्।
राष्ट्रपति कार्यालयका अनुसार मन्त्रिपरिषद्मा समावेश हुने मन्त्रीहरूमा कुमार इङनाम, माधव चौलागाईं, नेपाल प्रहरीका अवकाशप्राप्त प्रहरी नायब महानिरीक्षक
राजेन्द्रसिंह भण्डारी र नेपाल पर्यटन बोर्डकी पूर्व कर्मचारी श्रद्धा श्रेष्ठ रहेका छन् ।
राज्यका विभिन्न क्षेत्रमा अनुभव प्राप्त व्यक्तिहरूलाई समेटेर सरकारले आफ्नो मन्त्रिपरिषद्लाई अझ प्रभावकारी रूपमा अघि बढाउने संकेत दिएको छ।
सुरक्षा, प्रशासनिक अनुभवदेखि पर्यटन व्यवस्थापनसम्मका क्षेत्रमा दक्ष भएका व्यक्तिहरूको समावेशलाई सरकारको बहुआयामिक रणनीतिसँग पनि जोडेर हेरिएको छ।
शपथ ग्रहणपछि उनीहरूलाई मन्त्रालयले तोकिएको कामका आधारमा जिम्मेवारी हस्तान्तरण गरिने बताइएको छ।
सरकारका पछिल्ला कार्यहरूलाई गतिशील बनाउने अपेक्षासहित मन्त्रिपरिषद् विस्तारको कदमलाई राजनीतिक वृत्तले पनि चासोपूर्वक हेरेको छ।









