मंसिर २७, काठमाडौं ।।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन शनिबार (आज)देखि औपचारिक रूपमा शुरू हुँदैछ।
महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा भव्य रूपमा गर्ने सम्पूर्ण तयारी पूरा भएको एमाले जनाएको छ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता–कार्यकर्ता तथा शुभेच्छुक सहभागी हुने अपेक्षा गरिएको छ।
उद्घाटन समारोहलाई राष्ट्रिय एकता, सांस्कृतिक विविधता र ऐतिहासिक पहिचान झल्किने गरी विशेष ढंगले आयोजना गरिएको उनले बताए।
नेपालका विभिन्न भू–भाग, जातजाति, भाषा र संस्कृतिको प्रतिनिधित्व गर्ने दुई सयभन्दा बढी कला तथा संस्कृति झल्काउने झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ। यी झाँकीले ‘विविधतामा एकता’को सन्देश प्रवाह गर्ने आयोजकको भनाइ छ।
महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विभिन्न १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ। यसले महाधिवेशनलाई राष्ट्रिय राजनीतिक महत्वको कार्यक्रमका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।
यस्तै यस पटकको महाधिवेशनलाई विशेष बनाउन लिच्छवि कालमा राजा हरिदत्तले स्थापना गरेको ऐतिहासिक चाँगुनारायण मन्दिरलाई मुख्य स्वरूप मानेर भव्य र कलात्मक मञ्च निर्माण गरिएको छ।
मञ्चमा काठमाडौं उपत्यकाका महत्वपूर्ण विभिन्न मन्दिरहरू एकै स्थानमा देखिने गरी डिजाइन गरिएको एमालेले जनाएको छ।
टाढासम्म रहेका सहभागीले पनि स्पष्ट रूपमा वक्ताको दृश्य र मन्तव्य देख्न सकून् भन्ने उद्देश्यले मञ्चको दायाँ र बायाँ ३०–३० फिट अग्ला दुईवटा अत्याधुनिक एलइडी स्क्रिन जडान गरिएको छ। यसको साथै करिब तीन किलोमिटरसम्म आवाज स्पष्ट रूपमा सुनिन सक्ने १ सय १५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ।
मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ।
महाधिवेशनको उद्घाटन सत्रमा मञ्चमै राष्ट्रिय एकताको प्रतीक झल्काउने विशेष सांगीतिक तथा सांस्कृतिक प्रस्तुति रहने बताइएको छ।
चाँगुनारायण मन्दिरको छेउमा विद्युतीय पाला राखिनेछ, जसलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रिमोटमार्फत बालेर महाधिवेशनको औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ।
पार्टीको ११औँ महाधिवेशनको प्रतीकस्वरूप ११ वटा झण्डा राखिनेछन्। तीमध्ये १० वटा झण्डा प्रारम्भमै फहराइने र एउटा झण्डा अध्यक्ष ओलीले रिमोटमार्फत फहराउने विशेष कार्यक्रम तय गरिएको छ।
एमालेले ११औँ राष्ट्रिय महाधिवेशनलाई पार्टीको भावी दिशा, नेतृत्व चयन र राजनीतिक कार्यदिशा तय गर्ने ऐतिहासिक अवसरका रूपमा चित्रण गर्दै उद्घाटन समारोहलाई स्मरणीय र अनुकरणीय बनाउने तयारी गरेको छ।









