सहमति कि मतदान? एमालेको नयाँ नेतृत्व आजदेखि तय हुँदै
  • प्रमुख खबर

Oplus_131072

मंसिर २८, काठमाडौं ।।
नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा आइतबार(आज)देखि नयाँ नेतृत्व चयन गर्ने औपचारिक प्रक्रिया शुरू हुँदैछ।

हिजो भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा उल्लेख्य जनसहभागिता र शक्ति प्रदर्शनसहित महाधिवेशनको भव्य उद्घाटन सम्पन्न भएसँगै आजबाट देखि नयाँ नेतृत्व चयन प्रक्रिया शुरू हुन लागेको हो ।

यतिबेला पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र नेतृत्व चयनप्रति सबैको ध्यान केन्द्रित भएको छ।

काठमाण्डौको भृकुटीमण्डपमा शुरू हुने बन्दसत्रले आउँदो पाँच वर्षका लागि एमालेको नयाँ नेतृत्व चयन गर्नेछ।

बन्दसत्रमा देशभरबाट छनोट भई आएका २ हजार २ सय ६२ जना महाधिवेशन प्रतिनिधिले एक अध्यक्ष, एक महासचिव, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात जना सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।

पार्टी नेतृत्व चयन सहमतिमै गर्ने प्रयास भइरहे पनि सहमति जुट्न नसके मतदान प्रक्रियामा जाने एमालेको तयारी छ।

मतदान आवश्यक परे विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने एमालेले यसअघि नै स्पष्ट गरिसकेको छ । यसले महाधिवेशनलाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

एमालेको नेतृत्वमा लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच अध्यक्ष पदका लागि प्रत्यक्ष प्रतिस्पर्धा हुने लगभग निश्चित भइसकेको छ। दुवै नेताले यसअघि नै अध्यक्षमा उम्मेदवारी दिने औपचारिक घोषणा गरिसकेका छन्।

अध्यक्षका दुवै आकाङ्क्षीले आफ्नो पक्ष बलियो बनाउन उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहितको प्यानल बनाउने गृहकार्य तीव्र पारेका छन्। यसले महाधिवेशनलाई केवल नेतृत्व चयनको प्रक्रिया मात्र नभई शक्ति सन्तुलनको महत्वपूर्ण परीक्षा बनाएको छ।

यस्तै महासचिव पदमा पनि रोचक प्रतिस्पर्धा देखिने संकेत छन्। ओली पक्षबाट वर्तमान महासचिव शंकर पोखरेलसँगै उपमहासचिवहरू प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङले दाबी प्रस्तुत गर्दै आएका छन्।

यता ईश्वर पोखरेल पक्षले उपाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टमध्ये एक जनालाई महासचिवको उम्मेदवार बनाउने तयारी गरेको छ।

उपाध्यक्ष र सचिव पदमा पनि दुवै समूहका धेरै नेताहरूले आकाङ्क्षा देखाएपछि पदाधिकारी व्यवस्थापन नेतृत्वका लागि चुनौतीपूर्ण बन्दै गएको छ।

जेनजी आन्दोलनपछिको समग्र राजनीतिक परिवेशलाई ध्यानमा राख्दै एमालेभित्र नेतृत्व तहमा युवाको प्रतिनिधित्व बढाउनुपर्ने आवाज पनि बलियो बन्दै गएको छ।

विशेषतः पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटीमा ४० वर्ष हाराहारी उमेर समूहका नेताहरूलाई अवसर दिनुपर्ने माग महाधिवेशनमा उठिरहेको छ।

महाधिवेशन प्रतिनिधिमध्ये करिब ४ सय जना ४० वर्षमुनिका युवा रहेका छन्। यसले पार्टीको भावी नेतृत्व निर्माणमा युवाको भूमिका कति स्थापित हुन्छ भन्ने प्रश्नलाई थप चासोको विषय बनाएको छ।

त्यस्तै सहमतिमार्फत नेतृत्व चयन हुने कि प्रतिस्पर्धात्मक निर्वाचनमा जाने भन्ने विषयले आजको बन्दसत्रलाई निर्णायक बनाउनेछ।

अध्यक्षदेखि केन्द्रीय कमिटीसम्मको चयन प्रक्रियाले एमालेको आगामी पाँच वर्षको राजनीतिक दिशा, संगठनात्मक स्वरूप र नेतृत्व शैली तय गर्ने अपेक्षा गरिएको छ।

११औँ महाधिवेशनले एमालेभित्रको शक्ति सन्तुलन मात्र होइन, समग्र राष्ट्रिय राजनीतिमा पार्टीको भावी भूमिकालाई समेत निर्धारण गर्ने भएकाले देशभर राजनीतिक वृत्तको नजर भृकुटीमण्डपतर्फ केन्द्रित भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्