मंसिर २९, काठमाडौं ।।
नेकपा (एमाले)को भावी दिशा, संगठनात्मक संरचना र राजनीतिक रणनीतिलाई निर्धारण गर्ने यो ११ औँ महाधिवेशन अन्तर्गत सोमबार(आज)देखि औपचारिक चुनावी प्रक्रिया शुरू भएको छ।
निर्वाचन कार्यतालिका अनुसार आज मतदाता नामावली प्रकाशन र उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ भने भोलि मतदान हुँदैछ।
निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज बिहान साढे १० बजेदेखि साढे १ बजेसम्म उम्मेदवारहरूले दर्खास्त फाराम दर्ता गर्नेछन्। त्यसपछि दिउँसो साढे २ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ।
प्रारम्भिक सूची सार्वजनिक भएसँगै दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ।
उजुरी दर्ता सकिएलगत्तै आजै दिउँसो ३ः१० बजेदेखि उजुरीउपर छानबिन तथा निर्णय गर्ने प्रक्रिया अघि बढाइनेछ।
सोही समयदेखि बेलुका ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्ने व्यवस्था गरिएको छ। सबै प्रक्रिया पूरा भएपछि बेलुका ६ बजे उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ।
निर्वाचन कार्यतालिका अनुसार भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। मतदान सम्पन्न भएपछि तत्काल मतगणना शुरू गरिने र निर्वाचन समितिले तोकेको समयअनुसार परिणाम घोषणा गरिनेछ।
यस महाधिवेशनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिने तयारी गरेका छन्।
शीर्ष नेतृत्वबीचको प्रतिस्पर्धालाई लिएर कार्यकर्ता पंक्तिमा विशेष चासो र उत्साह देखिएको छ। नेतृत्व चयनको यो प्रक्रिया एमालेको आगामी राजनीतिक यात्राका लागि निर्णायक हुने अपेक्षा गरिएको छ।









