नेतृत्वको निरन्तरता कि पुस्तान्तरण? एमाले अध्यक्षमा दुई धारबीच टक्कर हुने
  • प्रमुख खबर

मंसिर २९, काठमाडौं ।।
नेकपा (एमाले)को जारी ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ।

सोमबार(आज) महाधिवेशनको निर्वाचन समितिमा दुवै नेताले औपचारिक रूपमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएसँगै नेतृत्व चयनको चुनावी माहोल थप तातिएको छ।

पार्टी नेतृत्वको निरन्तरता खोजिरहेका ओलीले तेस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन्।

यसअघि दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधनमार्फत दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहद हटाएपछि पुनः नेतृत्वमा जाने बाटो खुलेको हो।

बलियो संगठनात्मक पकड, लामो राजनीतिक अनुभव र निर्णायक नेतृत्वशैलीका कारण ओलीलाई पार्टीभित्र प्रभावशाली नेताका रूपमा लिइन्छ।

महाधिवेशन उद्घाटनदेखि नै ओलीको पक्षमा देखिएको शक्ति प्रदर्शनले उनी पुनः अध्यक्ष बन्ने सम्भावनालाई बलियो बनाएको आकलन भइरहेको छ।

यद्यपि आन्तरिक लोकतन्त्र र नेतृत्वमा पुस्तान्तरणको बहससँगै अध्यक्ष पदमा अर्को बलियो दाबी प्रस्तुत गर्दै ईश्वर पोखरेल मैदानमा उत्रिएका छन्।

१०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका पोखरेलले पनि आज अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

लामो समय पार्टी संगठन निर्माणमा सक्रिय रहँदै आएका पोखरेललाई सन्तुलित, अनुशासित र विचारमा स्पष्ट नेताका रूपमा हेरिन्छ।

पार्टीभित्र असन्तुष्ट र परिवर्तन चाहने समूहको समर्थन पोखरेलतर्फ जाने सम्भावना देखिएको छ।

ओली र पोखरेलबीचको प्रतिस्पर्धालाई एमालेभित्रको दुई फरक धारको निरन्तरतामुखी नेतृत्व र वैकल्पिक नेतृत्वबीचको टकरावका रूपमा विश्लेषण गरिएको छ। यसले महाधिवेशनको चुनावी प्रक्रिया थप रोचक र अर्थपूर्ण बनाएको छ।

निर्वाचन कार्यतालिका अनुसार यसअघि दिउँसो १ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएकोमा केन्द्रीय निर्वाचन आयोगले चुनाव कार्यक्रम संशोधन गर्दै उम्मेदवारी दर्ता गर्ने समय दुई घण्टा थप गरेको छ ।

संशाेधित कार्यक्रम अनुसार आज साढे ३ बजेसम्म उम्मेदवारको दरखास्त फाराम दर्ता भएको छ।

यस्तै ४ बजे प्रारम्भिक नामावली प्रकाशन, साढे ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, ५ बजेसम्म छानबिन गरी निर्णय, ६ बजेसम्म उम्मेदवारको नाम फिर्ता र साढे ६ बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।

त्यस्तै मतदान भोलि बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म हुनेछ । अध्यक्षसहित पदाधिकारी र केन्द्रीय सदस्य चयनका लागि हुने निर्वाचनले एमालेको भावी राजनीतिक दिशा, संगठनात्मक संरचना र रणनीतिमा गहिरो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्