पौष १, काठमाडौं ।।
नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबार(आज) अपराह्न ४ बजेदेखि मतदान सुरु हुने भएको छ।
महाधिवेशन बन्दसत्र चलिरहेको भृकुटीमण्डपस्थित हलमा विद्युतीय भोटिङ मेसिनमार्फत मतदान हुने भएको हो ।
यसअघि दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि प्राविधिक तयारी पूरा गर्न समय लागेकाले मतदान प्रक्रिया ढिलो सुरु हुन लागेको हो।
भोटिङ मेसिनका प्राविधिक नवराज पाण्डेका अनुसार प्रणाली परीक्षण, मेसिनको सेटअप र सुरक्षासम्बन्धी जाँचका कारण समय सारिएको जानकारी दिएका छन् ।
महाधिवेशनमा देशभरबाट २ हजार २ सय ६३ जना प्रतिनिधि सहभागी छन्। यही प्रतिनिधिबाट १९ जना पदाधिकारी, ३ सय १ जना केन्द्रीय सदस्य तथा केन्द्रीय निकायका पदाधिकारी गरी कुल ३ सय ५१ जनाको नयाँ नेतृत्व चयन हुनेछ।
अध्यक्ष पदमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आ–आफ्नो प्यानल बनाएर प्रतिस्पर्धामा उत्रिएका छन्। जसले चुनावी प्रतिस्पर्धा अत्यन्तै चर्किएको छ।
दुवै पक्षबाट गरी करिब सात सयभन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन्, जसले मतदान प्रक्रिया थप जटिल बनाएको छ।
मतदानस्थलमा ८० वटा विद्युतीय भोटिङ मेसिन राखिएको छ। तर उम्मेदवारको संख्या अत्यधिक भएकाले एक जना प्रतिनिधिले मतदान गर्न औसतमा ३५ देखि ४० मिनेटसम्म समय लाग्ने प्राविधिक पाण्डेले जानकारी दिए।
उनले भने,”साक्षर र उम्मेदवारलाई राम्रोसँग चिनेका प्रतिनिधिले २० मिनेटमै मतदान सक्न सक्छन् तर उम्मेदवारको नाम ध्यान दिएर पढ्नुपर्ने, फोटो हेर्नुपर्ने र धेरै पदमा मत हाल्नुपर्ने भएकाले कतिपयलाई ४० देखि ४५ मिनेटसम्म लाग्ने छ।’
यस्तै भोटिङ मेसिनमा प्यानल छुट्टाछुट्टै नआउने तर सबै उम्मेदवारको नाम र फोटो क्रमशः देखिने भएकाले प्रतिनिधिले प्रत्येक पदमा सोचेर मत दिनुपर्ने बाध्यता रहेको उनले बताए।
एक पटकमा ८० जनाले मात्र मतदान गर्न सक्ने भएकाले सम्पूर्ण मतदान प्रक्रिया कम्तीमा १८ घण्टा लाग्ने अनुमान गरिएको छ।
यदि पार्टी नेतृत्वबाट मतदान रोक्ने कुनै आदेश आएन भने आज रातभर मतदान चल्ने र भोलि दिउँसोसम्म सकिने अपेक्षा गरिएको छ।
विद्युतीय मेसिनबाट मतदान भए पनि सबै मेसिन एक–आपसमा नेटवर्किङ नभएकाले प्रत्येक मेसिनको मत छुट्टाछुट्टै संकलन गर्नुपर्नेछ।
उनले भने,”मेसिनले तत्काल नतिजा देखाउँछ तर ८० वटै मेसिनको मत जोडेर अन्तिम परिणाम निकाल्न डेढदेखि तीन घण्टासम्म समय लाग्छ।”
सबै प्रक्रिया सहज रूपमा अघि बढेमा भोलि दिउँसोसम्म एमालेको नयाँ नेतृत्व सार्वजनिक हुने प्राविधिक टोलीको अनुमान छ।
यस निर्वाचनलाई एमालेको आन्तरिक लोकतन्त्र, नेतृत्व संरचना र आगामी राजनीतिक दिशानिर्देशनको निर्णायक क्षणका रूपमा हेरिएको छ।
दुई ठूला प्यानलबीचको कडा प्रतिस्पर्धाले मतदानस्थलको वातावरण थप चासोपूर्ण र ऐतिहासिक बनाएको छ।














